काठमाडौं– पछिल्लो समयका व्यस्त अभिनेता विपिन कार्की र अभिनेत्री नम्रता श्रेष्ठलाई लिएर फिल्म 'प्रसाद'को छायांकन सोमबारदेखि सुरु भएको छ।
काठमाडौंको काँडाघारीस्थित गान्धी महिला आश्रमबाट फिल्मको छायांकन थालिएको हो। विपिन र नम्रतासँगै निश्चल बस्नेतको संवादको छायांकन गरेर फिल्मको मुहूर्त गरिएको हो।
फिल्ममा विपिन र नम्रता श्रीमान्–श्रीमतीको भूमिकामा देखिनेछन्। निश्चलको भूमिका भने अहिलेसम्म रहस्यमै राखिएको छ।
दिनेश राउतको निर्देशनमा बन्न लागेको ‘प्रसाद’ निःसन्तान दम्पती र उनीहरुमा आउने विभिन्न आरोह-अवरोहबारे केन्द्रित रहेको जनाइएको छ।
रंग पत्रकार सुशील पौडेलको लेखनमा बन्न लागेको ‘प्रसाद’ लाई राजेश श्रेष्ठले खिच्नेछन् भने सुवास भुसाल र कोशिश क्षेत्रीको संगीत रहनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।