विराटनगर– वर्षायाममा पानीको सतह बढेपछि बन्द हुदै आएको सप्तकोशी नदीको र्याफ्टिङ (जलयात्रा) व्यवसाय अव बाह्रै महिना सञ्चालनमा आउने भएको छ।
सप्तकोशीमा पानीको बहाव एकै नाश रहेको र प्राविधिक दृष्टिकोणले पनि र्याफ्टिङ गर्न सुरक्षित देखिएपछि अव जुनसुकै समयमा पनि सेवा सञ्चालन गर्न सकिने भएको हो। एक महिना अघि मात्रै प्राविधिकको टोलीले नदीको स्थलगत अध्ययन गरी हिउँद–वर्षा जुनसुकै समयमा सेवा सञ्चालन गर्न सकिने प्रतिवेदन दिएको रिभर डिप र्याफ्टिङका व्यवस्थापक शुरेस बस्नतले बताए।
हाल प्रदेश १ का तमोर, अरुण, सुनकोशी र सप्तकोशी नदीमा र्याफ्टिङ व्यवसाय सञ्चालन हुँदै आएको छ। प्राविधिकहरुको अध्ययनले अन्य नदीको तुलनामा सप्तकोशी नदीमा जोखिम अत्यन्तै कम देखिएपछि व्यवसायीहरु उत्साहित भएको पर्यटन व्यवसायी यादव कोइराला बताउँछन्। ‘सप्तकोशी नदीको सेभ जोन (सुरक्षित स्थान)लाई आधार बनाएर अहिले हरेक दिन र्याफ्टिङ सञ्चालन भइरहेको छ’, उनले भने, ‘अघिल्ला वर्षहरुमा वर्षाका तीन महिना सेवा बन्द हन्थ्यो, अब देखि त्यो समस्या रहेन।’
अन्य नदीमा बाढी र वर्षात्को समयमा बन्द गर्नुपर्ने समस्या यथावत रहेपनि सप्तकोशीमा भने जुनसुकै समयमा र्याफ्टिङ व्यवसाय सञ्चालन गर्न सकिने रिभर डिप ¥याफ्टिङका अध्यक्ष यादव कोइरालाले दावी गरे।
पर्यटकले र्याफ्टिङ मार्फत बराह क्षेत्र, प्राचीन हरिद्वार चतरा, दक्षिण एसियाको चरा भण्डार भनिने कोशीटप्पु वन्यजन्तु आरक्ष र विश्वको सबैभन्दा धेरै बालुवा बोक्ने दोस्रो नदी कोशीको एकमुष्ट आनन्द लिने गरेका छन्।
करिब २३ किलोमिटर दुरी रहेको यो रुट र्याफ्टिङ व्यवसायका लागि अत्यन्त महत्वपूर्ण रहेको व्यवसायीहरु बताउँछन्। सप्तकोशीले घेरिएको श्रीलंका टापु पुग्न पनि र्याफ्टिङले योगदान दिएको उनीहरुको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।