कलैया– बाराको कलैया उप–महानगरपालिकाले सहरलाई सफा राख्न ‘क्लिन कलैया’ अभियान चलाउने भएको छ। आइतबार आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गर्दै उप–महानगरपालिकाले सो अभियान सञ्चालनका लागि बजेट छुट्याएको हो।
उप–महानगरपालिकाले १ अर्ब १ करोड २२ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको हो। बजेटमा ‘क्लिन कलैया’ अभियान सुरु गर्नुका साथै, भरतचोकलाई सुदुढीकरण गरी सुन्दर बनाउने र बौराहा पोखरीलाई नमुना पोखरा बनाउने कार्यक्रम सार्वजनिक गरेको छ।
उपमहानगरपालिकामा २७ वटा वडा रहेकोमा सबैलाई ८५ लाखका दरले बजेट छुट्याइएको कार्यकारी अधिकृत डा टोकराज पाण्डेले बताए। ‘पूर्वाधारको विकासलाई हामीले प्राथमिकतामा राखेका छौं,’ डा पाण्डेले भने,‘पुरानो नगरपालिका भएर पनि विकासमा पछि परेकाले हामीले योजनाबद्ध रुपमा विकासको योजना अघि सारेका छौं।’
कलैया २०३९ सालमै नै नगरपालिका बनेको सहर हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।