काठमाडौं- वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले आफ्नो घर, कार्यालय र वरपरका नदीनाला सफा राख्न काठमाडौं र भक्तपुरका स्थानीयलाई सपथ खुवाएका छन्।
काठमाडौं र भक्तपुरबीचको मनोहरा नदी सरसफाइमा ऐक्यबद्धता जनाउन शनिबार जडिबुटीस्थित मनोहरा फलफूल तथा तरकारी बजार पुगेका मन्त्री बस्नेतले सरसफाइ अभियानमा सहभागीसँगै आफूले पनि वातावरण सफा राख्ने सपथ खाए।
वन र वातावरणको संरक्षण हुन नसके भविष्यमा अक्सिजनको सिलिन्डर बोकेर हिँड्नुपर्ने अवस्था आउनसक्ने मन्त्री बस्नेतले बताए। उनले त्यस्तो अवस्था आउन नदिन वातावरण संरक्षण र सरसफाइमा जनस्तरबाट पनि सहयोग गर्न आग्रह गरे।
केही दिनभित्रै मनोहरा नदी किनारमा वृक्षरोपण सुरु गरिने जानकारी दिँदै मन्त्री बस्नेतले नदी करिडोरलाई स्वच्छ र हराभरा राख्न अन्य मन्त्रालयहरुसँग पनि समन्वय गरिने बताए।
मनोहरा सरसफाइ तथा सम्पदा बचाऊ नागरिक अभियानको पहलमा सुरु भएको नदी संरक्षण तथा सरसफाइ अभियान ६५औं सातामा जारी छ। सरसफाइ अभियानमा स्थानियबासी, मनोहरा तरकारी बजार व्यवस्थापन समिति, तरकारी व्यवसायीहरु, स्थानीय विभिन्न विद्यालयका शिक्षक तथा विद्यार्थीको सहभागी थिए।
सरसफाइमा ऐक्यबद्धता जनाउन पुगेका मन्त्री बस्नेतलाई स्थानीयले मनोहरा करिडोरमा सरकारी स्तरबाट वृक्षरोपण गर्न माग गर्दै करिडोरको सडक व्यवस्थित गर्न समेत सुझाव दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।