अदिस अबाबा- नवनिर्वाचित इथियोपियाली प्रधानमन्त्री अविय अहमदको सम्मानमा शनिबार आयोजना गरिएको विजय जुलुसपछि सम्बोधनका क्रममा भएको विस्फोटमा परी कैयौँ सर्वसाधारणको मृत्यु भएको छ। मृतकको संख्याबारे भने यकिन भएको छैन।
इथियोपियाको राजधानी अदिस अबाबामा आयोजित र्यालीमा दसौं हजार समर्थक तथा शुभेच्छुक सहभागी थिए। जुलुसपछि प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम अनुसार अवियले सम्बोधन गरिरहेका समय विस्फोट गराइएको थियो। विस्फोटपछि आफ्नो सम्बोधनलाई बीचैमा रोकेर प्रधानमन्त्री बाहिरिएका थिए।

जुलुसमा भएको अपार सहभागितालाई छायाँमा पार्ने उद्देश्यले विपक्षी समूहले विस्फोट गराएको हुन सक्ने प्रहरीलाई उद्धृत गर्दै राज्य सञ्चालित समाचार संस्था फाना ब्रोडकास्टिङ कर्पोरेटले जनाएको छ।
प्रधानमन्त्रीका रुपमा पद सम्हालेपछिको छोटो समयमा नै उनले सेना प्रमुख र गुप्तचर प्रमुखलाई बर्खास्त गरेका थिए। मानवअधिकार उल्लंघन गरेको भन्दै उनले इथियोपियाको सुरक्षा फौजको पनि आलोचना गरेका थिए। पछिल्लो घटनालाई अहमदले ’इथियोपियालाई एकताबद्ध देख्न नचाहने शक्तिहरूले गरेको असफल प्रयास’का रुपमा चित्रण गरेका छन्।
गत अप्रिलमा जिम्मेवारी सम्हालेका अवियले आफू निर्वाचित भएपछि पहिलोपटक राजधानीमा सम्बोधन गरेका हुन्। यद्यपि उनी प्रान्तीय सभाहरूमा भने सहभागी भइरहेका थिए।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।