काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेले ट्रेड युनियन अधिकारप्रति चनाखो रहन मजदुर नेताहरुलाई आग्रह गरेका छन्। नेता पौडेलले नेपाल ट्रेड युनियन कांग्रेसको छैटौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यलाई शुभकामना दिँदै कम्युनिस्ट सरकारले ट्रेड युनियनको नारा लगाएर सत्तामा पुगेपछि सबैभन्दा पहिले ट्रेड युनियन अधिकारमाथि हमला गर्ने भन्दै आफ्नो अधिकारप्रति चनाखो रहने आग्रह गरेका हुन्।
पौडेलले मजदुरहरुको न्यूनतम ज्यालाका विषयमा चासो राख्दै मजदुरहरुको न्यूनतम ज्यालाको मुद्दा कहाँ पुगेको छ भनी मजदुर नेताहरुसँग जिज्ञासा राखेका थिए। मजदुर नेताहरुले न्यूनतम ज्याला हरेक २-२ वर्षमा पुनरावलोकन गर्नुपर्नेमा २ वर्ष बितिसकेको अवस्थामा पनि पुनरावलोकन हुन नसकेको बताएका थिए। भेटमा नेता पौडेलले नेपाली कांग्रेस ट्रेड युनियनलाई सम्पूर्ण रुपमा सहयोग गर्न तयार रहेको बताएका थिए।
ट्रेड युनियनका नवनियुक्त अध्यक्ष पुष्कर आचार्यले ट्रेड युनियनलाई पार्टीले चुनावका बेला मात्र उपयोग गर्ने गरेको गुनासो गरेका थिए। उनले नयाँ संविधान सम्बन्धी धेरै ट्रेड युनियन अधिकार सम्बन्धी ऐन कानुन बन्न लागेको अवस्थामा पार्टीले मजदुर प्रेमी व्यवहार गर्न आग्रह गरेका थिए। अध्यक्ष आचार्यले सरकारले ट्रेड युनियनकर्मीलाई आस्थाका आधारमा विभेद सुरु गरेको भन्दै कांग्रेसले संसद्मा यो विषयलाई उठाउन समेत माग गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।