तुलसीपुर- तुलसीपुर उपमहानगरपालिकाले शुक्रबार नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।
तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेयले ‘हाम्रो तुलसीपुर–राम्रो तुलसीपुर, खुसी जनता–समृद्ध तुलसीपुर’ भन्ने नारालाई प्राथमिकतामा राखेर तेस्रो नगरसभासमक्ष नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।
यसपटक नीति तथा कार्यक्रममा सडक, कृषि, शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखिएको छ।
उपमहानगरपालिकाले ल्याएको नीति तथा कार्यक्रममा कृषि क्षेत्रको प्रवर्धनका लागि शीतभण्डार निर्माणदेखि 'एनिमल एम्बुलेन्स'सम्मको विषयलाई प्राथमिकता दिइएको छ।
त्यसैगरी, केन्द्र र प्रदेश सरकारको नीतिलाई मध्यनजर गरेर कार्यक्रमलाई प्राथमिकता दिएको पनि नगरप्रमुख पाण्डेयले बताए। 'उद्यमशीलताको विकासबिना हाम्रो समृद्धिको यात्रा सम्भव छैन त्यसैले युवालाई उद्यमशील बनाउने कार्यलाई प्राथमिकतामा राखेका छौं,' उनले भने।
त्यसैगरी, खानेपानी तथा सरसफाइ; कृषि; पर्यटन; उद्योग तथा वाणिज्य; सहकारी र वित्तीय; लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण; सडक तथा पुल; सिँचाइ, भवन तथा शहरी विकास; ऊर्जा; लघु तथा साना जलविद्युत्; सञ्चार आदिलाई समेटिएको छ।
यसैगरी, उपमहानगरपालिकाबाट दिइने सेवालाई चुस्त, दुरुस्त, पारदर्शी र प्रविधिमैत्री बनाउनका लागि इ–गभर्नेन्सको नीतिलाई अवलम्बन गर्ने कुरालाई पनि नीति तथा कार्यक्रममा समेटिएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।