काठमाडौं- प्रतियोगीहरूलाई समेत कोरोना संक्रमण भएपछि आज हुने भनिएको मिस वर्ल्डको ग्रान्ड फिनाले अनिश्चितकालका लागि स्थगित भएको छ।
प्रतियोगी, आयोजक र कर्मचारीमा कोरोनाभाइरस संक्रमण भएको आयोजकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। प्रतियोगिता स्थगित भएपछि प्रतियोगीहरू स्वदेश फर्कने भएका छन्।
नेपालबाट नम्रता श्रेष्ठ प्रतियोगितामा भाग लिन आयोजनास्थल पुएर्तो रिको पुगेकी छिन्। सबै प्रतियोगीलाई कारोना परीक्षणपछि मात्र स्वदेश फर्काइने आयोजकले जनाएका छन्।
मिस वर्ल्ड आयोजकले आफ्ना सबैजना स्टाफमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जनाएको छ। आयोजनास्थल पुएर्तो रिकोमा कोरोनाको स्थितिमा सुधार भए ९० दिनभित्र पुनः कार्यक्रम गर्न सकिने विज्ञप्तिमा उल्लेख छ।
कोरोना संक्रमण सुरुआतमा ड्रेसिङ रुमबाट फैलिएको थियो। त्यसपछि सात जना प्रतिस्पर्धीमा संक्रमण देखिएको थियो। अन्य प्रतियोगी र कर्मचारीलाई पनि परीक्षण गर्दा संक्रमण फैलिएको पुष्टि भएपछि पुएर्तो रिकोको स्वास्थ्य विभागले प्रतियोगिता रोक्न निर्देशन दिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।