काठमाडौं- अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को कालो सूचीबाट नेपाल हटिसकाले अब युरोपियन युनियनको सूचीबाट पनि चाँडै हट्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले बताएका छन्।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा यसबारे जानकारी गराउँदै उनले नेपालले आइकाओको उडान सुरक्षामापदण्ड पूरा गरेको प्रमाणपत्र पनि प्राप्त गरिसकेको जानकारी दिए। सन् २०१३ मा आइकाओले उडान सुरक्षा मापदण्ड नपुगेको भन्दै नेपाललाई गम्भीर सुरक्षा चासोको मुलुकको सूचीमा राखेको थियो। 'अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको कालो सूचीबाट अब नेपाल मुक्त भएको छ,' उनले भने, 'आइकाओको उडान सुरक्षाको मापदण्ड विश्व सरदर ६० प्रतिशतको तुलनामा नेपालको ६६ दशमलव ८ प्रतिशत पुगेको छ।'
सुरक्षा मापदण्ड पूरा गरेकाले नेपालले अन्तराष्ट्रिय नागरिक उड्डन आइकाओ काउन्सिल प्रेसिडेन्ट अवार्ड पाएको पनि मन्त्री अधिकारीले जानकारी दिए।
युरोपियन युनियनको सूचीबाट पनि ३ महिनाभित्र नेपाल हट्ने उनले आश्वासन दिए। युरोपियन युनियनबाट समेत २०१३ डिसेम्बर देखि नेपाली वायु सेवा कम्पनीलाई युरोप उडानमा रोकावट गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।