काठमाडौं– नियम विपरीत सञ्चालन गरेको पाइएपछि काठमाडौ उपत्यकाका दुई पसलमा बिहीबार शिलबन्दी गरिएको छ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको अनुगमनका क्रममा कलङ्कीस्थित माया ट्रेडर्स र नयाँ बानेश्वरमा रहेको फुड एण्ड एलाइट स्टोर बन्द गरिएको हो। ठूलो मात्रामा म्याद नाघेको औषधि बिक्रीका लागि राखिएको, मूल्यसूची र नामपाटी तथा व्यवसाय दर्ता र नापतौल प्रमाणीकरण नभएकाले सञ्चालक स्वयम्को जिम्मामा रहने गरी ती दुवै पसललाई बन्द गरी केही निर्देशन पूरा गरी सात दिनभित्र विभागमा आउन भनिएको अनुगमन संयोजक सुभाष चापागाईंले बताए।
म्याद नाघेको सामग्री बिक्री वितरण गरिएको, गोदाममा विभिन्न खाद्य सामग्री पोको नपारिएको, लेबलिङ स्टिकर कहाँबाट प्राप्त भएको स्पष्ट नभएको र मसला पसल ब्राण्ड उल्लिखित नभएको हुँदा सोको स्पष्टीकरणसहित ललितपुर, पुल्चोकमा रहेको सेलवेज डिपार्टमेन्टल स्टोर प्रालि र लगनखेलमा रहेको अनुपम ट्रेडर्सलाई २४ घण्टाभित्र विभागमा आउन निर्देशन दिइएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।