झापा- प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले मुलुक १५ वर्षभित्र समृद्ध बन्न सक्ने बताएका छन्।
झापा अर्जुनधारा नगरपालिकाको दोस्रो नगरसभालाई बिहीबार सम्बोधन गर्दै मुख्यमन्त्री राईले भने, 'सबै एकजुट भएर लागे चाँडै समृद्धि हासिल गर्न सक्छ, त्यसका लागि १५ वर्षको समय काफी हुन्छ।'
मुख्यमन्त्री राईले विकासको कार्यमा ढिला गर्न नहुने बताउँदै विकासको गतिविधि सुस्त भयो भने संघीयता सार्थक हुन नसक्ने समेत बताए।
'समृद्धि वर्तमान सरकारकै पालामा सम्भव छ', उनले भने, 'विकास हामीले गर्ने हो, बाहिरको कुनै पनि मानिस आएर हाम्रा लागि काम गरिदिँदैनन्।'
मुख्यमन्त्री राईले जनप्रतिनिधिले प्रशस्त अधिकार पाएकाले त्यसको सदुपयोग गरेर अब जनताको सेवामा लाग्नुपर्नेमा जोड दिए।
कार्यक्रममा प्रदेशसभा सदस्य बृख प्रधान र जिल्ला समन्वय समितिका सभापति सोम पोर्तेल लगायतले मुलुकको समृद्धिका लागि सबै लाग्नुपर्नेमा जोड दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।