पोखरा– प्रदेश ४ को विनियोजन विधेयक बहुमतले पारित भएको छ।
दुई दिनसम्म चलेको छलफलपछि बिहीबारको बैठकमा प्रदेश ४ का आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले पेश गरेको प्रदेश विनियोजन विधेयक पारित भएको हो।
पारित विधेयकमा सत्तापक्ष नेकपाको समर्थन थियो भने जनमोर्चाले मौन समर्थन तथा नेपाली कांग्रेस र नयाँ शक्तिले विरोध गरेका थिए।
कांग्रेसका सांसद कुमार खड्काले बजेट बाँडफाँट नगरी विधेयक पास गरिदेऊ भन्नु संसदको मान्यता विपरीत भएकाले विरोध गरेको बताए। उनले भने, ‘विनियोजन विधेयकमा बजेट सबैतिर बाँडफाँट गरिन्छ। तर बजेट नछुट्याई सदनमा पेश गरेर कसरी विनियोजन विधेयक भयो?’
भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले छोटो समयमै बजेट तयार गर्नुपरेकाले सबै मन्त्रालयको बजेट विनियोजन हुन नसकेको प्रस्ट्याए। मन्त्री बस्नेतले भने, ‘प्रतिपक्ष र सत्तापक्षले समेत आफ्ना योजनाहरु नपरेको देख्नुलाई हामीले जनताप्रति जवाफदेही सम्झेका छौं।’ प्रदेशलाई समृद्ध बनाउने गरी गुरुयोजनाहरु बनाइने उनले बताए।
यस्तै, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले सांसदहरुलाई अहिले नै परिणाम खोजिनहाल्न आग्रह गरे।
सामाजिक विकास मन्त्री नरदेवी पुनले केही मन्त्रालयको बजेट अहिले एकमुष्ठ भए पनि विनियोजनका क्रममा कसैमाथि विभेद नगरिने बताइन्।
भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले योजना छनोट र बजेट विनियोजन गर्दा उल्टो भएको बताए। तल्लो तहबाट जनताका माग र आवश्यकता बटुलेर पछि बजेट विनियोजन नगरेको उनको आरोप थियो।
‘हामी केन्द्रबाट प्रदेश हुँदै स्थानीय तहको बजेट विनियोजन गर्दा जनताका आवश्यकता पूरा गर्न समस्या देखिन सक्छ’, उनले भने।
जनमोर्चाकी सांसद पियारी थापाले भने बजेटलाई ‘भीरमौरीको मह’ को संज्ञा दिइन्।
‘भीरको डिलमा एउटा पोको छ, पोकोभित्र के छ हामीलाई थाहा छैन’, उनले भनिन्, ‘भीर मौरीको मह झर्ला र चाटौंला भनेर मुख मिठ्याइरहेका छौं।’
बैठकमा सांसद विन्दुकुमार थापा, रोशन गाहाथापा, राजीव पहारी, चन्द्रबहादुर बुढा लगायत २० जना सांसदले भनाइ राखेका थिए।
सांसदका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री किरण गुरुङले बजेट यथार्थमा आधारित भएको दाबी गरे। उनले बजेट बाँडफाँट गरिएको छैन भनेर शंका नगर्न सांसदलाई आग्रह समेत गरे।
उनले भने, ‘६० करोड एकढिक्का छ भनेर शंका नगर्नुस्। यहाँहरुकै योजनामा यो बजेट बाँडफाँट हुन्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।