पोखरा– प्राविधिक शिक्षा पढ्नेमा पुरुषभन्दा महिलाको संख्या बढी हुने गरेको पाइएको छ । पुरुषको तुलनामा महिला ७० प्रतिशतले बढी प्राविधिक शिक्षा पढ्ने पोखरा टेक्निकल कलेजका प्रमुख माधव थपलियाले जानकारी दिए।
पहिले प्राविधिक शिक्षा सुरु गर्दा पुरुषको संख्या बढी भए पनि हाल महिलाको संख्या पुरुषको भन्दा दोब्बर भएको थपलियाले बताए।
‘पहिले ६/७ जना महिला प्राविधिक शिक्षा पढ्दा ३०/३५ पुरुष हुन्थे’, उनले भने, ‘हाल आएर त्यो तथ्यांक ठ्याक्कै उल्टो भएको छ।’
प्राविधिक शिक्षाले घरमै बसेर स्वरोजगार गर्न सकिने भएकाले महिलाको संख्या बढेको हुनसक्ने उनले बताए। नेपालका धेरै पुरुष एसएलसी या प्लस टु लगत्तै रोजगारीको खोजीमा विदेशिने भएकाले पनि महिलाको संख्या प्राविधिक शिक्षामा बढी हुने गरेको उनको भनाइ थियो।
प्राविधिक शिक्षामा पनि स्वास्थ्य क्षेत्रमा महिला बढी आकर्षित हुने गरेका छन्। ‘कृषिमा बढी फिल्डमा जानुपर्छ, पर्यटन पनि त्यस्तै हो’, थपलियाले भने, ‘स्वास्थ्यमा ल्याब, असिस्टेन्ट, अनमी कक्षामा महिलाको चाप बढी छ।’
होटल र पर्यटनमा भने पुरुषको संख्या बढी हुने उनले जानकारी दिए।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्, सूचना तथा अनुसन्धान महाशाखा, सक्षमता परियोजना तथा पोखरा प्राविधिक शिक्षालयले संयुक्त रुपमा पोखरामा आयोजना गर्न लागेको बृहत् प्राविधिक शैक्षिक परामर्श मेलाबारे जानकारी दिन आयोजित पत्रकार सम्मलेनमा थपलियाले यस्तो जानकारी दिएका हुन्।
कलेजका प्रमुख थपलियाले इञ्जिनियरिङ पढेका विद्यार्थी धेरै बाहिरी देश जाने र कृषि पढेका विद्यार्थी नेपालमै रोजगारी गरिरहेको पाइएको बताए।
‘बाहिर जाने जनशक्ति रोक्न सकिन्छ तर त्यसको लागि सरकारले कानुन राम्रो बनाउनुपर्छ’, उनले भने। सीप सिकेर विदेश जाने युवालाई नेपालमै राख्न सरकारले निजी क्षेत्रलाई अघि सार्नुपर्ने उनले माग गरे।
गण्डकी टेक्निकल स्कुलका प्रधानाध्यापक राम पौडेलले नेपालको वर्तमान अवस्था सुहाउँदो शिक्षा नै प्राविधिक शिक्षा भएको भन्दै प्राविधिक शिक्षा पढेर बेरोजगार बस्नु नपर्ने बताए।
शैक्षिक मेला असार १५ र १६ गते पोखरा सभागृहमा हुनेछ। जसमा बाग्लुङ, पर्वत, तनहुँ लगायतका जिल्लाका प्राविधिक विद्यालयसहित २५ विद्यालयको स्टल रहनेछ।
एसइईपछि सिटिइभिटी अन्तर्गत सञ्चालन गरिने प्रविधिक शिक्षा लिन चाहने युवालाई विषयको छनोट, भर्ना प्रक्रिया, समय, शुल्क छात्रावृत्ति प्रक्रियाआदि बारे जानकारी दिन मेला आयोजना गर्न लागिएको पोखरा प्राविधिक शिक्षालयका प्रमुख तथा कार्यक्रम मूल आयोजक समितिका संयोजक जीवन भण्डारीले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।