रसुवा– जनता आवास कार्यक्रम अन्तर्गत रसुवामा यो वर्ष २३ जनाले रकम नपाउने भएका छन्।
वर्षाको समयमा पुनःनिर्माण गर्न नसक्ने बताएपछि २३ जनाले रकम नपाउने भएका हुन्। जिल्लामा निर्माण सामग्री तथा दक्ष जनशक्तिको अभाव, र वर्षाको समयमा पुनःनिर्माणमा समस्या हुने बताएपछि यो वर्ष उनीहरुले रकम पाउन नसक्ने शहरी विकास तथा भवन डिभिजन कार्यालय रसुवाका असिस्टेन्ट सव–इञ्जिनियर धर्मदेव शाहले बताए।
२३ जनाले आगामी आर्थिक वर्षमा पुनःनिर्माण सुरु गर्ने बताएपछि जनता आवासको निर्माणमा ढिलाइ हुने देखिएको छ। यो वर्ष पुनःनिर्माण गर्न नसक्ने बताउनेमा अधिकांक एकल महिला छन्।
जनता आवास कार्यक्रम अन्तर्गत रसुवामा एकल महिला, दलित, विपन्न आदिवासी गरी ५० जना छनोटमा परेका थिए। ५० घर निर्माणका लागि १ करोड ७५ लाख रुपैयाँ छुट्याइएको र चार किस्तामा प्रतिघर ३ लाख ३२ हजार वितरण हुने डिभिजन कार्यालयले जनाएको छ। यो आर्थिक वर्षमा ३ वटा मात्र घर निर्माण हुने र बाँकी घर आगामी वर्षमा बन्ने असिस्टेन्ट सव–इञ्जिनियर शाहले बताए।
छनोट गरिएकामध्ये हालसम्म २७ जनाले पहिलो किस्तावापतको रकम पाएका छन्। त्यस्तै, १९ जनाले दोस्रो किस्ता र ९ जनाले तेस्रो किस्ता पाएका छन्। तीन जनाले घर निर्माण सम्पन्न गरिसकेकाले चौथो किस्ताको रकम दिने तयारीमा रहेको बताइएको छ।
जिल्लाको आमाछोदङमो गाउँपालिका ५ टेतान्चेकी कामी याङजेन तामाङ र कालिका गाउँपालिका ३ इटपारेका कृष्णकुमारी न्यौपाने र वृन्दा पौडेलको घर निर्माण पूरा भएको शहरी तथा भवन डिभिजन कार्यालय रसुवाले जनाएको छ।
रसुवामा २०७४ मंसिरदेखि जनता आवास कार्यक्रम सुरु गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।