हेटौंडा- हेटौंडामा जारी नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको राष्ट्रिय भेलामा सभापतिहरुले पार्टी सभापति शेरबहादुर देउवाको चर्को आलोचना गरेका छन्।
विगतमा देउवा पक्षमा रहेका जिल्ला सभापतिहरु समेत उनको कटु आलोचक बनेका छन्। बन्दसत्रमा बोल्दै देउवाको गृहजिल्ला डडेल्धुराका कांग्रेस सभापति कर्णबहादुर मल्लले देशमा कम्युनिस्टको अधिनायकवाद भए जस्तै पार्टीमा सभापतिको रहेको टिप्पणी गरे।
'पार्टीलाई सुदृढ बनाउन नसक्नेले छोड्नुपर्छ', उनले भने।
विगतमा देउवा निकट रहेका ललितपुरका पार्टी सभापति मदन अमात्य पनि देउवाप्रति असन्तुष्ट देखिए। देउवाले पार्टीलाई पद्धतिविहीन बनाएको उनको आरोप छ।
नुवाकोटका सभापति जगदीश्वर नरसिंह केसीले १३औं महाधिवेशनमा देउवालाई मत दिएको बताउँदै अहिले आएर पछुतो लागेको बताए।
बन्दसत्रमा बोल्ने क्रम सकिएसँगै हेटौंडा घोषणापत्रको तयारीमा लागेको नेताहरुले बताएका छन्। शुक्रबार शीर्ष तहका नेताहरुले सम्बोधन गरी भेलाको समापन गर्ने बताइएको छ।
भेला शुक्रबार बिहान साढे ८ बजे बस्ने जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।