भैरहवा- स्कुलबस प्रयोग गरेबापत अभिभावकले मोटो रकम बुझाए पनि विद्यार्थीले निकै सकस बेहोर्नुपरेको छ। अत्यधिक गर्मी र सडकमा उड्ने धुलोबीच बसभित्र कोचाकोच खाँदिनपर्दा विद्यार्थी हैरान छन्।
रुपन्देहीमा सञ्चालित अधिकांश निजी विद्यालयहरुले बसको सिट क्षमताभन्दा झन्डै दोब्बर विद्यार्थी बोक्ने गरेका छन्। स–साना विद्यार्थीहरु गह्रौं स्कुलब्याग सहित भेडाबाख्रा झैं बसमा कोचिएर विद्यालय पुग्दा थकानले पढाइमा समेत असर पुग्ने गरेको छ।
अभिभावकसँग मोटो रकम असुल गर्ने तर विद्यार्थीलाई सहज सेवा नदिने विद्यालप्रति जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले कारबाही थालेको छ।
भैरहवाका ३ तथा मुर्गियाको एक विद्यालय कारबाहीमा परेका हुन्। जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार सिट क्षमताभन्दा बढी विद्यार्थी बोक्ने बसलाई नियन्त्रणमा लिइएको छ।
भैरहवाको सनसाइन आवासीय उच्च मावि, बृहस्पति उच्च मावि, जेसिज किन्टर गार्डेन स्कुल र तिलोत्तमा नगरपालिकाको प्यारामाउन्ड बोर्डिङ स्कुललाई कारबाही गरिएको ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रमुख बेदबहादुर पौडेलले बताए। पहिलो पटक नियन्त्रणमा लिएका बस र सम्बन्धित विद्यालयलाई सम्झाबुझाइ अब क्षमताभन्दा बढी विद्यार्थी नबोक्ने सर्तमा छाडिएको उनले बताए।
पहिलो चरणमा विद्यालयका प्रतिनिधिलाई कार्यालयमै झिकाई सम्झाउने र फेरि नमाने कडा जरिवाना गर्ने उनले बताए।
ट्राफिक प्रहरी निरीक्षक पौडेलले भैरहवा क्षेत्रको अव्यवस्थित पार्किङ तथा फुटपाथ कब्जा गरेकालाई पनि हटाउने अभियान सुरु गरेको जनाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।