काठमाडौं- २०१८ फिफा विश्वकपको समूह चरणअन्तर्गत सबै टिमको पहिलो खेल अाज सकिँदैछ। विश्वकपमा खेलको अन्त्यतिर निर्णायक गोल हुने क्रम जारी छ।
सोमबार राति इंग्ल्यान्डले ट्युनिसियालाई हराउन इन्जुरी टाइममा भएको गोलको सहारा लियो। कप्तान ह्यारी केनले दोस्रो हाफको इन्जुरी टाइमको पहिलो मिनेटमा गोल गरेपछि इंग्ल्यान्डले २-१ गोलको जित हात पार्यो।
यो गोल जारी विश्वकपमा ८८ मिनेटपछि भएको छैटौं गोल हो। खेलको अन्त्यतिर गोल भएर जित-हार भएको यो पाँचौ खेल हो। यस्तै जारी विश्वकपमा इन्जुरी टाइमको भएको चौथो गोल हो।
रसियामा विश्वकपमा अहिलेसम्म भएका खेल मध्ये अन्तिम समयमा भएका गोलले ३६ प्रतिशत खेलमा निर्णायक बनेको छ।
यसअघि पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले ८७ मिनेटमा फिक्रिकमार्फत गोल गर्दा खेल ३-३ बराबरी भयो र पोर्चुगलले स्पेन विरुद्ध १ अंक खोस्न सफल भयो।

उरुग्वेका जोस गिमिनेजले ८९ मिनेटमा हेडमार्फत गोल गरेर इजिप्ट विरुद्ध १-० गोलको जित दिलाएका थिए।
इरान विरुद्धको खेलमा मोरक्कोका अजिजले इन्जुरी टाइमको पाँचौ मिनेटमा आत्मघाती गोल गरेका थिए। जसले गर्दा इरानले १-० को जित निकाल्न सफल भयो।
अस्ट्रेलिया विरुद्धको खेलमा पाउल पोग्बाले ८१ मिनेटमा गोल गर्दा फ्रान्सले २-१ को जित निकाल्न सफल भयो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।