काठमाडौं- २०१८ फिफा विश्वकपमा दाबेदार मानिएको ब्राजिल पहिलो खेलमै बराबरीमा रोकिएको छ। ब्राजिललाई समूह 'ई' को खेलमा स्विट्जरल्यान्डले १-१ गोलको बराबरीमा रोकेको हो।
खेलमा अग्रता भने ब्राजिलले लिएको थियो। ब्राजिलका लागि फिलिप काउटिन्होले २० मिनेटमा गोल गरेका थिए। उनले डिबक्स नजिकबाट हानेको प्रहारले सिधै जाली चुम्दा ब्राजिल १-० गोलले अघि बढेको थियो।
स्विट्जरल्यान्डले ५० मिनेटमा बराबरि गोल फर्काउन सफल भयो। कर्नर बलमा जुबेरले क्लोज रेन्जबाट हेडमार्फत गोल फर्काएका थिए। प्रतिस्पर्धात्मक खेलमा ब्राजिलले स्विस पोस्टमा बढी चार्ज गरेपनि फिनिसिङमा पटकपटक चुक्यो।
योसँगै समूहमा सर्विया शीर्ष स्थानमा छ। सर्वियाले कोस्टारिकालाई पराजित गरेको थियो।
जारी विश्वकपमा बलिया मानिएका टिम राम्रो सुरुवात गर्न चुकिरहेका छन्। डिफेन्डिङ च्याम्पियन जर्मनीलाई मेक्सिकोले पराजित गर्दा अर्जेन्टिनालाई आइसल्यान्डले बराबरीमा रोकेको थियो।





नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।