समूह ‘इ’
ब्राजिल भर्सेस स्विट्जरल्यान्ड
समय - असार ३ गते, राति ११ः४५
मस्को– २०१८ विश्वकप फुटबलको समूह ‘इ’ को दोस्रो खेलमा पाँच पटकको विजेता बाज्रिल र स्विट्जरल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ।
ब्राजिल प्रतियोगिताको दाबेदार टिम हो। यता पहिलो खेलमा स्विट्जरल्यान्डको इतिहास राम्रो छ। उसले सन् २०१० को विश्वकप जितेको स्पेनलाई त्यही विश्वकपको पहिलो खेलमा हराएको थियो।
सन् २०१४ मा घरेलु भूमिमा आयोजना भएको विश्वकपको सेमिफाइनलको खेल ब्राजिलका लागि पिडादायी रह्यो। जर्मनीसँग फराकिलो अन्तरले पराजित भएको ब्राजिल रसियामा राम्रो सुरुवात गर्न चाहान्छ। प्रशिक्षकमा टिटे नियुक्त भएपछि ब्राजिलियन टिम सन्तुलित र आत्मविश्वासी बनेको छ।
रसिया विश्वकपमा छानिने पहिलो टिम ब्राजिल विश्वकपको पनि शीर्ष टिम बन्न चाहान्छ। ब्राजिलियन टिममा गत संस्करणको विश्वकप खेलेका ६ खेलाडी मात्र छन्। बाँकी १७ खेलाडी पहिलो पटक विश्वकप खेल्दैछन्।
प्लेअफ खेलेर रसियाको टिकट पक्का गरेको स्विट्जरल्यान्डको विश्वकपमा राम्रो इतिहास छ। ठूला टिमलाई पराजित गर्ने खुबी भएको स्विस टिममा प्रतिभावान खेलाडीको जमघट छ। त्यसैले स्विट्जरल्यान्ड पहिलो खेलमा दाबेदार टिमलाई दबाब दिने योजनामा छ।
ब्राजिलले स्विट्जरल्यान्ड विरुद्धको खेल प्रतिस्पर्धात्मक हुने अनुमान गरेको ब्राजिलियन टिम विश्लेषकले बताएका छन्। पहिलो खेलमा ब्राजिलले धैर्यपूर्ण खेल्नु पर्ने देखिन्छ। नेइमार, ग्राबियल जेसस, फिलिप काउटिन्हो र विलियमजस्ता अनुभवी तथा प्रतिभावान खेलाडी टिममा हुँदा जितका लागि चाहिने शक्ति ब्राजिलमा छ।
स्विट्जरल्यान्डले पछिल्ला २ वार्मअप म्याचमा राम्रो खेल पस्केको थियो। स्पेनसँग १–१ गोलको बराबरी खेलेको स्विटजरल्यान्डले जापानलाई २–० गोलले पराजित गरेको थियो।
इतिहासमा भने ब्राजिल अघि छ। ब्राजिल र स्विट्जरल्यान्डबीच विश्वकपमा अहिलेसम्म भएका दुवै खेल ब्राजिलले जितेको छ।
ब्राजिलले विश्वकपको सुरुवाती २० खेलमध्ये १६ खेलमा जित हात पारेको छ। पहिलो र दोस्रो विश्वकपको पहिलो खेलमा पराजित भएको ब्राजिलले त्यसपछि विश्वकपको कुनै पनि सुरुवाती खेल खेल हारेको छैन।
सम्भावित टिम
ब्राजिलः एलिन्सन, डानिलो, थियागो सिल्भा, मिरान्डा, मार्सेलो, कासिमेरो, पाउलिन्हो, फिलिप काउटिन्हो, विलियम, ग्राबियल जेसस र नेइमार
स्विटजरल्यान्डः सोमार, लिचटेइनर, स्चाइर, अकन्जी, रोद्रिगेज, बेहरामी, जाका, साकिरी, डिजमाइली, जुबर र सेफेरोभिक
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।