काठमाडौं- चीनले नेपाललाई अनुदान सहायता स्वरुप थप १६ लाख डोज कोभिडविरुद्धको खोप उपलब्ध गराएको छ।
बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एक कार्यक्रमका बीच चिनियाँ राजदूत होउ यान्छीले स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडालाई सो खोप हस्तान्तरण गरेकी हुन्।
कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री खतिवडाले चीन सरकारले चालू आर्थिक वर्षभित्र सबै नेपालीलाई खोप दिइसक्ने योजनालाई पूरा गराउन सहयोग स्वरुप कोभिडविरुद्धको खोप उपलब्ध गराउँदै आएकोमा आभार व्यक्त गरे। उनले त्यस अवसरमा हालसम्म चीन सरकारले नेपाललाई ३४ लाख डोज खोप अनुदान सहायताको रुपमा उपलब्ध गराएको जानकारी दिए।
चिनियाँ राजदूत यान्छीले नेपाल सरकारको कोभिडविरुद्धको अभियानमा साथ दिन चीन सरकारले आवश्यक सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरिन्। उनले २ दिनपछि चिनियाँ सेनाले नेपाली सेनालाई ३ लाख डोज कोभिडविरुद्धको खोप उपलब्ध गराउने जानकारी समेत दिइन्।
राजदूत यान्छीले कोभिड निर्मूल गरी नेपालको सामाजिक, आर्थिक क्षेत्रलाई सहज बनाउन चीन सरकारले सकेको योगदान पुर्याउने प्रतिवद्धता व्यक्त गरिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।