समूह डी
अर्जेन्टिना भर्सेस
सयम – असार २, बेलुकी ६:४५ बजे
मस्को- २०१८ फिफा विश्वकपको समूह 'डी'को पहिलो खेलमा साविक उपविजेता अर्जेन्टिना र विश्वकपको नवप्रवेशी आइसल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ। मस्कोको स्पार्टक रंगशालामा दुई पटकको विश्वविजेता अर्जेन्टिनाले विश्वकपमा १७ औं सहभागिता जनाउदा नयाँ अनुभव बटुल्छ। किनकी अर्जेन्टिनाले प्रतिस्पर्धा गर्न लागेको प्रतिद्वन्द्वी विश्वकप खेल्ने अहिलेसम्मकै सानो देश आइसल्यान्ड हो। आइसल्यान्ड जनसंख्याको आधारमा विश्वकप खेल्ने सवैभन्दा सानो देश बन्दैछ।
३ लाख ३५ हजार जनसंख्या भएको आइसल्यान्डले दुई पटकको विश्वविजेता अर्जेन्टिना विरुद्ध खेलेर विश्वकप डेब्यू गर्नका लागि राम्रो तयारी गरेको छ।
अर्जेन्टिनाको बलियो पक्ष लिओनल मेसी, एन्जेल डि मारिया र सर्जिओ अग्युरो जस्ता अनुभवी खेलाडी टिममा हुनु हो। यद्यपी अर्जेन्टिनाका लागि छनोट चरण कठिन बनेको थियो। प्रशिक्षक जोर्गे सम्पाओलीको टिमले छनोटको अन्तिम खेलमा इक्वेइडरलाई पराजित गर्दै विश्वकपमा स्थान पक्का गरेको थियो। अन्तिम खेलमा मेसीले ह्याट्रिक गरेका थिए।
दुई वर्षअघि युरो कपमा डेब्यू गर्दा आइसल्यान्डले क्वार्टरफाइनलको यात्रा तय गर्दै सवैको ध्यान खिँचेको थियो। छनोट प्रतियोगितामा पनि उसले क्रोएसिया, युक्रेन र टर्की जस्ता टिमलाई हराएको थियो।
अर्जेन्टिनाले विश्वकप अघि एउटा मात्र वार्मअप खेल खेलेको थियो। अर्जेन्टिनामा अनुभवी खेलाडी टिममा रहे पनि आइसल्यान्डका अब्बल रक्षापंक्ति भत्काउन भने सहज छैन। आइसल्यान्ड पछिल्ला ४ खेलमा जितबिहीन छ। राम्रो तयारी गरेको उसका कप्तान अरोन गुनार्सनको फिटनेसको समस्या टाउको दुखाई बनेको छ।
मेसीले १६ जुन २००६ मा विश्वकपमा डेब्यू गरेका थिए। उनले डेब्यू गरेको खेलमा अर्जेन्टिनाले सर्विया एन्ड मोन्टेनेग्रोलाई ६–० गोलले हराएको थियो। माक्सिम रोद्रिगेजलाई सब्सिच्युट गर्दै मैदान छिरेका उनले गोल गरेका थिए। आइसल्यान्ड विरुद्ध पनि मेसी १६ जुनमै मैदान उत्रदैछन्।
सम्भावित टिम
अर्जेन्टिना
विल्फ्रेडो काबालेरो, इडुएर्डो सल्भिओ, निकोलास ओटामेन्डी, मार्कोस रोजो, निकोलास टाग्लियाफिको, जाभियर मास्चिरानो, लुकास बिग्लिया, म्याक्सिमिलियानो मेजा, लिओनल मेसी, एन्जेल डि मारिया, सर्जियो अग्युरो
आइसल्यान्ड
हनेस हालडोर्सन, होर्डुर माग्नुसन, रागनार सिगुडसन, कारी अनार्सन, बिर्किर साइभार्सन, इमिल हालफ्रेडसन, अरोन गुनारसन, बिर्किर बजारसन, ग्लिफि सिगुर्डसन, जोहान गुडमुरडसन, जोन बोडभार्सन
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।