एजेन्सी– २०१८ फिफा विश्वकपको समूह 'ए' को दोस्रो खेलमा अहिले पौने ६ बजे इजिप्ट र उरुग्वे बीच प्रतिस्पर्धा हुँदैछ। दुवै टिमलाई समूहबाट दोस्रो चरणमा पुग्ने दाबेदार टिमको रुपमा लिइएको छ।
झण्डै तीन दशकपछि विश्वकपमा फर्किएको इजिप्टले पहिलो खेललाई ठूलो महत्व दिनेछ। इजिप्टका स्टार खेलाडी मोहमद सलाह पहिलो रोजाइको टिममा पर्न असफल भएका छन्। जुन सलाह र इजिप्टका फ्यानका लागि दुखद खबर हो। यसअघि प्रशिक्षक हेक्टर कुपरले सलाह शतप्रतिशत फिट भएको दाबी गरेका थिए।
दुई टिमको लाइनअफ

दुई पटकको विश्व विजेता उरुग्वेका लागि पहिलो खेलमै इजिप्टसँग खेल्नु चुनौतीपूर्ण देखिन्छ। पछिल्ला २ विश्वकपमा राम्रो प्रदर्शन गरेको उरुग्वे धेरै आशा गरेको इजिप्टमाथि हाबी हुन चाहन्छ। किनकी इजिप्ट भन्दा उरुग्वेको टिममा अनुभवी खेलाडी छन्। टिममा रहेका फरवार्डद्वय लुइस सुआरेज र इडिन्सन काभानीबाट उरुग्वेले फाइदा लिन सक्छ। यी दुई फरवार्डलाई रोक्नु इजिप्टको चुनौती हुनेछ। छनोट चरणमा मध्यम प्रदर्शन गरेको उरुग्वे ठूला प्रतियोगितामा भने उत्कृष्ट खेल्ने गर्छ। खेलअघि उरुग्वेका प्रशिक्षक ओस्कार वासिङटनले इजिप्टलाई खुलेर खेल्न नदिने बताएका छन्।
सन् १९७० पछिको विश्वकपको पहिलो खेलमा उरुग्वेले जित निकाल्न सकेको छैन। पछिल्लो ४८ वर्षमा उरुग्वेले विश्वकपमा खेलेका पहिलो ६ खेलमा ३ खेलमा बराबरी र ३ खेलमा हार बेहोरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।