समूह ए
इजिप्ट भर्सेस उरुग्वे
समय – असार १, साँझ ५:४५
२०१८ फिफा विश्वकपको समूह 'ए' को दोस्रो खेलमा आज साँझ इजिप्ट र उरुग्वे बीच प्रतिस्पर्धा हुँदैछ। दुवै टिमलाई समूहबाट दोस्रो चरणमा पुग्ने दाबेदार टिमको रुपमा लिइएको छ।
झण्डै तीन दशकपछि विश्वकपमा फर्किएको इजिप्टले पहिलो खेललाई ठूलो महत्व दिनेछ। उरुग्वे विरुद्धको खेल लाखौं इजिप्टका फ्यानले प्रतिक्षा गरिरहेका छन्। इजिप्टका स्टार खेलाडी मोहमद सलाह मैदान उत्रने पक्का हुनु टिमका लागि खुसीको खबर हो। सलाह मैदान उत्रिएमा खेलको केन्द्रविन्दूमा हुनेछन्। सलाह गत महिना भएको च्याम्पियन्स लिगको फाइनलमा घाइते भएका थिए। प्रशिक्षक हेक्टर कुपरले सलाह शतप्रतिशत फिट भएको दाबी गरेका छन्।
दुई पटकको विश्व विजेता उरुग्वेका लागि पहिलो खेलमै इजिप्टसँग खेल्नु चुनौतीपूर्ण देखिन्छ। पछिल्ला २ विश्वकपमा राम्रो प्रदर्शन गरेको उरुग्वे धेरै आशा गरेको इजिप्टमाथि हाबी हुन चाहन्छ। किनकी इजिप्ट भन्दा उरुग्वेको टिममा अनुभवी खेलाडी छन्। टिममा रहेका फरवार्डद्वय लुइस सुआरेज र इडिन्सन काभानीबाट उरुग्वेले फाइदा लिन सक्छ। यी दुई फरवार्डलाई रोक्नु इजिप्टको चुनौती हुनेछ। छनोट चरणमा मध्यम प्रदर्शन गरेको उरुग्वे ठूला प्रतियोगितामा भने उत्कृष्ट खेल्ने गर्छ। खेलअघि उरुग्वेका प्रशिक्षक ओस्कार वासिङटनले इजिप्टलाई खुलेर खेल्न नदिने बताएका छन्।
सन् १९७० पछिको विश्वकपको पहिलो खेलमा उरुग्वेले जित निकाल्न सकेको छैन। पछिल्लो ४८ वर्षमा उरुग्वेले विश्वकपमा खेलेका पहिलो ६ खेलमा ३ खेलमा बराबरी र ३ खेलमा हार बेहोरेको छ।
सम्भावित टिम
इजिप्ट
गोलकिपर – मोहमद इल शेनावे,
डिफेन्डर- अलि गाबर, अमेद हेगाजी, अहमेद फाथी, मोहमद अब्दे शाफी
मिडफिल्डर- टारेक हमेद, मोहमद इल नेरी, मोहम ट्रेजेगुइट, अब्दुला सइद
फरवार्ड– रमादन सोभी, मोहमद सलाह
उरुग्वे
गोलकिपर - फर्नान्डो मुस्लेरा
डिफेन्डर- गुइलेर्मो भारेला, जोसे मरिया गिमेनेज, डिएगो गोडिन, मार्टिन काकेरेस
मिडफिल्डर - नाथालिन नान्डेज, मार्टियास भेसिनो, रोद्रिगो बेन्टाकुर, गिओरजियन डे अरास्कसेटा
फरवार्ड - इडिन्सन काभानी, लुइस सुआरेज
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।