समूह ए
रसिया भर्सेस साउदी अरेबिया
समय – जेठ ३१, राति ८:४५
स्थान – लुज्निकी रंगशाला, मस्को
मस्को– अन्तत: चार वर्षको प्रतीक्षा समाप्त भएको छ। मारियो गोट्जेले थप समयमा गोल गरेर जर्मनीलाई २०औं संस्करणको फिफा विश्वकप फुटबल प्रतियोगिताको उपाधि दिलाएको १ हजार ४ सय ३२ दिनपछि २१औं संस्करणको विश्वकप सुरु हुँदैछ।
बिहीबार नेपाली समयअनुसार ८ बजेर ४५ मिनेटमा मस्कोस्थित लुज्निकी रंगशालामा आयोजक रसिया र साउदी अरेबियाबीच हुने खेलसँगै विश्वकपको विधिवत सुरुवात हुनेछ।
रसियाले पछिल्ला ७ खेलमा जित निकाल्न सकेको छैन। गत अक्टोबरमा दक्षिण कोरियालाई हराएपछि खेलिएका ७ मैत्रीपूर्ण खेलमा रसियाले जित निकाल्न नसकेको हो। यस्तै साउदी अरेबिया पनि पछिल्ला ३ खेलमा लगातार पराजित भएको थियो। यद्यपी साउदीले खेलेका प्रतिद्वन्द्वी बलिया थिए। साउदीलाई पछिल्ला ३ मैत्रीपूर्ण खेलमा इटाली, पेरु र विश्वकपको साविक विजेता जर्मनीले पराजित गरेका थिए।
त्यसैले दुवै टिमका लागि बिहीबार पछिल्ला खेलमा बेहोरेको खराब नजिता बिर्सने एउटा सुन्दर अवसर हुनेछ। रसियाले विश्वकप २००२ पछि खेलेका विश्वकपका सवै खेल गुमाएकोछ। साउदीले सन् १९९४ मा अमेरिकालाई हराए यता विश्वकपमा जित हात पार्न सकेको छैन।

पछिल्लो समय खराब लयमा रहेको रसियाका लागि उद्घाटन खेलमा जित निकाल्ने अवसर छ। किनकी उसले समान स्तरको टिमसँग प्रतिस्पर्धा गर्दैछ।
यता साउदी अरेबियाले केहि बलिया टिममाथि धावा बोलेको इतिहास छ। सुरुवातको १० मिनेटमा साउदीले रसियालाई रोकेर खेल बुझेर अघि बढ्ने रणनीति बनाउने विश्लेषण गरिएको छ।
रसिया र साउदी अरेबिया विश्वकपमा पहिलो पटक भिड्न लागेका हुन्।
विश्वकप फुटबलको इतिहासमा उद्घाटन खेलमा कुनै पनि आयोजक टिम पराजित भएका छैनन्। २१ संस्करणका २२ आयोजक टिम मध्ये १५ टिमले पहिलो खेलमा जित हात पारेका छन्। यस्तै ६ टिम बराबरीमा रोकिएका छन्। रसियाले इतिहास दोहोर्याउला वा खराब इतिहास राख्ला त्यो हेर्न बिहीबार रातिसम्म कुर्नु पर्ने हुन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।