काठमाडौं– निर्देशक सुदर्शन थापा र समाचार वाचिका तथा मोडेल सुप्रिया कटुवाल वैवाहिक बन्धनमा बाँधिएका छन्।
गत भदौं २१ गते इन्गेजमेन्ट गरेका उनीहरुले शुक्रबार काठमाडौंको एक होटलमा विवाह गरेका हुन्। प्रेम सम्बन्धमा रहेका उनीहरुले गत भदौंमा आफ्नो प्रेमलाई सार्वजनिक गर्दै इन्गेजमेन्ट गरेर छिट्टै विवाह बन्धनमा बाँधिने बताएका थिए।
सोहीअनुरुप शुक्रबार थापा र कटुवालले विवाह गरेका छन्। थापा आफ्नी आमासँग बग्गीमा चढेर विवाह हुने होटलमा पुगेका थिए, जहाँ उनीहरुलाई दुलही सुप्रियाको परिवारले स्वागत गरेको थियो। करिब एक वर्ष लामो उनीहरुको प्रेम सम्बन्ध वैवाहिक जीवनमा परिवर्तन भएको छ।
‘मेरो एउटा साथी छ’, ‘राम कहानी’, ‘प्रेमगीत’लगायतका चलचित्र निर्देशन गरेका थापा नाम चलेका निर्देशक हुन् भने सुप्रिया कुनै समयकी मोडेल हुन्। हाल सुप्रिया एपिवान टेलिभिजनमा समाचार वाचिकाको रुपमा कार्यरत छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।