काठमाडौं– भारतले नेपाललाई उपलब्ध गराउन बाँकी १० लाख डोज कोभिसिल्ड खोप छिट्टै नेपाल ल्याइने भएको छ। भारतको ठूलो खोप उत्पादक कम्पनी सेरम इन्स्टिच्युटले बाँकी खोप नेपाललाई उपलब्ध गराउने औपचारिक जानकारी दिएको स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा.सागर दाहालले बताए।
उक्त खोप दुई हप्ताभित्रै नेपाल ल्याउनेगरी तयारी थालिएको दाहालले बताए। ‘भारतले उपलब्ध गराउन बाँकी रहेको १० लाख डोज खोप उपलब्ध गराउने औपचारिक जानकारी आएको छ,’ उनले भने, ‘दसैंअगाडि नै खोप ल्याउने तयारीमा हामी छौं।’
नेपालले भारतसँग २० लाख डोज कोभिसिल्ड खोप खरिद गरेको थियो। जसमध्ये १० लाख डोज प्राप्त भइसकेको छ भने बाँकी खोप दिन भारतले ढिलाइ गरेको थियो।
यसअघि भारतमा कोरोना महाममारी नियन्त्रण बाहिर गएको भन्दै त्यहाँको अदालतले खोप निर्यातमा प्रतिबन्ध लगाएको थियो। प्रतिबन्धका कारण नेपालले खरिद गरेको खोपसमेत रोकिएको थियो। हालै भारत सरकारले खोप निर्यातमा लगाएको प्रतिबन्ध हटाएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।