फाइल तस्बिर
काठमाडौं- स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले दसैंलगत्तै १८ वर्ष मुनिका बालबालिकाका लागि कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिने बताएका छन्।
आइतबार कान्ति बाल अस्पताललाई बुद्धिष्ट चु जी च्यारिटी फाउण्डेसनले स्वास्थ्य सामग्री हस्तान्तरण गर्न आयोजित कार्यक्रममा बोल्दै राज्यमन्त्री श्रेष्ठले १८ वर्ष मुनिका बालबालिकाका लागि कोरोनाविरुद्धको एक करोड खोप आउने सुनिश्चितता भइसकेको बताए। यसका लागि ४० लाख मोडर्ना र ६० लाख फाइजर खोप खरिदको व्यवस्था गरिसकिएको उनले बताए। दसैंलगत्तै एक लाख फाइजर खोप आउने उनले जानकारी दिए। फागुनसम्ममा क्रमशः खोप आउने र बालबालिकालाई उपलब्ध गराइने उनको भनाइ छ।
राज्यमन्त्री श्रेष्ठले सरकारले कोरोनाविरुद्धको खोपलाई पहिलो प्राथमिकता दिएको उल्लेख गर्दै तीन तहकै अस्पतालको व्यवस्थापकीय पक्षलाई सुधार्न नीति बनाउने तयारी सरकारले गरेको बताए। सरकारले स्वास्थ्य क्षेत्रको दरबन्दी बढाउन ध्यान दिएको उनको भनाइ छ। कोभिड-१९ रोकथाम तथा नियन्त्रणको सम्बन्धमा मृत्यु भएका स्वास्थ्यकर्मीको बालबच्चालाई अध्ययनका लागि छात्रवृत्ति प्रदान गरिने पनि उनले बताए।
बुद्धिष्ट चु जी च्यारिटी फाउण्डेसनले कान्ति बाल अस्पताललाई २५ वटा भेन्टिलेटरलगायतको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ। कोरोना संक्रमणको पहिलो लहरदेखि नै सरकारलाई विभिन्न स्वास्थ्य सामग्री सहयोग गर्दै फाउण्डेसनले संक्रमणको तेस्रो लहर आउनसक्ने सम्भावनालाई ध्यान दिँदै पूर्वतयारी स्वरुप स्वास्थ्य सामग्री हस्तान्तरण गरेको फाउण्डेसनका नेपाल प्रतिनिधि महेश नकर्मीले बताए।
फाउन्डेसनले ४१ करोड ४८ लाख ४९ हजार ३०० रुपैयाँ बराबरको स्वास्थ्य सामग्री कान्ति बाल अस्पताललाई हस्तान्तरण गरेको नकर्मीले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।