काठमाडौं– सरकारले संविधान, प्रचलित कानुन र कोभिड १९ को नियन्त्रणका लागि जारी गरिएको स्वास्थ्य प्रोटोकलभित्र रहेर गरिने कुनै पनि क्रियाकलापमा बन्देज लगाउने आदेश र उद्देश्य नभएको स्पष्ट पारेको छ।
मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले बिहीबार एक विज्ञप्ति जारी गर्दै उक्त कुरा बताएका हुन्। ‘नेपालको संविधान, प्रचलित कानुन र कोभिड १९ को नियन्त्रणका लागि जारी गरिएको स्वास्थ्य प्रोटोकलभित्र रही गरिने कुनै पनि क्रियाकलापमा बन्देज लगाउने नेपाल सरकारको कुनै आदेश र उद्देश्य नभएको व्यहोरा सबैको जानकारीको लागि अनुरोध छ,’ विज्ञप्तिमा भनिएको छ।
विज्ञप्तिमा जिल्ला प्रशासन कार्यालय, काठमाडौं र भक्तपुरले जारी गरेको आदेशको विषयमा सार्वजनिक रूपमा अभिव्यक्त चासो र चिन्ताप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ।
उपत्यकाका तीनै प्रमुख जिल्ला अधिकाले फरकफरक विज्ञप्ति जारी गर्दै आज (बिहीबार) राति १२ बजेदेखि लागू हुने गरी अनावश्यक रुपमा भिडभाड, मेला र महोत्व गर्न रोक लगाइएको जानकारी दिएका थिए।
जारी आदेशमा घर बाहिर मानिसहरु जम्मा हुन नपाउने, भिडभाड गर्न नपाउने, सभा जुलुस गर्न नपाउने, जात्रा महोत्सव र भोज आदि गर्न नपाउने भनिएको छ।
अर्को आदेश नभएसम्मका लागि यस्तो व्यवस्था लागू गरिएको हो। कोभिड १९ को संक्रमण कायमै रहेकाले नजिकिँदै गरेका चाडपर्वहरु पनि सांकेतिक रुपमा मात्रै मनाउन आदेशमा भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।