काठमाडौं– श्रीलंकाले अन्तर्राष्ट्रिय विमानस्थल भएर भित्रिने पर्यटकका लागि यसअघि अनिवार्य गरेको पीसीआर परीक्षणसम्बन्धी प्रावधानलाई हटाउने निर्णय गरेको छ।
पूर्ण खोप लगाइएको वा कुनै पनि मुलुकमा पीसीआर परीक्षण गरी संक्रमण पुष्टि नभएको रिपोर्ट लिएर ७२ घण्टाभित्र स्वदेश आउने पर्यटकले अनिवार्य पीसीआर परीक्षण गर्नुनपर्ने श्रीलंकाका स्वास्थ्य मन्त्री कहेल्या रामबुकवेलाले बन्दरानाइकेले बताए।
उनले भने, ’पर्यटकले आगमनभन्दा दुई हप्ता अगाडि कोभिड–१९ विरूद्धको दोस्रो मात्रा खोप लगाएको वा कुनै पनि मुलुकमा पीसीआर परीक्षण गरी ७२ घण्टा ननाघेको भएमा श्रीलंकामा आएर पीसीआर गराउनु अनिवार्य हुने छैन। प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा ४० लाखभन्दा बढी मानिसहरूलाई रोजगार दिएको श्रीलङ्का आफ्नो मुनाफादायी पर्यटन उद्योगलाई सुदृढ पार्न पर्यटकहरूका लागि देश पुनः खोल्न तयार छ।’
सरकारी अधिकारीका अनुसार श्रीलंकाले पूर्ण खोप लगाइएका यात्रुलाई यात्रा गर्न सहज बनाउन र पर्यटक आगमन र विदेशी मुद्रा आर्जनलाई बढाउन काभिड–१९ का विभिन्न प्रतिबन्ध कम गर्ने प्रयास गरिरहेको छ।
श्रीलंकामा यस वर्षको पहिलो आठ महिनामा २४ हजार ३३७ पर्यटक आगमन भएको रेकर्ड गरेको छ।
आधिकारिक तथ्याङ्कअनुसार कोभिड–१९ महामारीको तेस्रो लहर चलिरहेको भए तापनि पर्यटकहरूको आगमन जुलाईदेखि १०७ प्रतिशतले बढेको छ। अगस्त महिनामा कुल पाँच हजार ४० विदेशी पर्यटक स्वदेश भित्रिएका र तीमध्ये अधिकांश चीन, यूरोप, संयुक्त राज्य अमेरिकाबाट आएका हुन्।
गत वर्ष मार्चदेखि श्रीलंकामा पाँच लाख १५ हजार ५२४ व्यक्तिमा कोभिड सङ्क्रमण पुष्टि भएको छ भने १२ हजार ७८६ जनाको मृत्यु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।