काठमाडौं– देशभर हालसम्म लक्षित उमेर समूहका जनसंख्याको २८ प्रतिशतभन्दा धेरैले पूर्ण खोप लगाइसकेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालमा हालसम्म एक करोड २९ लाख मात्रा खोप लगाइसकिएको छ।
यसमध्ये २८ प्रतिशतले पूर्ण मात्रा लगाएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले बताए। उनका अनुसार नेपालमा हालसम्म एक करोड ७८ लाख ५८ हजार ७१० मात्रा कोभिड–१९ विरुद्धको खोप आएको छ।
नेपालले विभिन्न देशबाट उक्त खोप ल्याएको हो । आएका खोपमध्ये सबैभन्दा धेरै चीनको भेरोसेल खोप रहेको उनले बताए। पौडेलका अनुसार नेपालमा भेरोसेल खोप एक करोड १९ लाख मात्रा आएको छ।
त्यसपछि भारतमा बनेको कोभिसिल्ड खोप २४ लाख ४८ हजार मात्रा नेपाल भित्रिएको उनले जानकारी दिए।
त्यस्तै, एस्ट्राजेनेका खोप १९ लाख ७५ हजार ८६० मात्रा तथा जोनसन एन्ड जोन्सन १५ लाख ३४ हजार ८५० मात्रा नेपाल भित्रिएको उनले बताए।
भारतले अनुदानमा दिएको १० लाख डोज खोप नेपाल आएपछि गत माघ १४ गतेबाट नेपालमा खोप अभियान सुरु भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।