चितवन– चितवनमा कोरोना संक्रमणको ग्राफ ओरालो लाग्दै गएको भएपनि संक्रमणको जोखिम भने कायमै रहेको छ।
चितवनमा सक्रिय कोरोना संक्रमितको संख्या ५०० भन्दा माथि रहेको छ। सक्रिय संक्रमितको संख्या ५ सय माथि भएपनि अहिले विद्यालय र बजार पूर्णरुपमा खुलेका छन् भने चाडपर्व नजिकिँदै गएकाले कोरोना संक्रमणको जोखिम कायमै रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ।
शुक्रबारसम्म चितवनमा ५८५ जना सक्रिय कोरोना संक्रमित रहेका छन्। जोखिम कायमै रहेको भएपनि पछिल्लो समय कोरोना संक्रमितको संख्या भने घट्दै गइरहेको छ। चितवनमा पीसीआर परीक्षणमा १० प्रतिशतभन्दा थोरैमा संक्रमण देखिने गरेको छ।
कोरोनाका गम्भीर प्रकृतिका बिरामी घट्दै जानु र मृत्युदरमा कमी आउनुले पनि कोरोनाको संक्रमणदर घटेको स्वास्थ्य कार्यालय चितवनले बताएको छ। जिल्लावासीले स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गर्न छाडेर सावधानी नअपनाइ दैनिक कामकाज सुरु गरेको अवस्थामा फेरि पनि कोरोना संक्रमण बढ्नसक्ने स्वास्थ्य कार्यालय चितवनका वरिष्ठ जनस्वास्थ्य प्रशासक दीपकबाबु तिवारीले बताए।
संक्रमण घट्दै गएपनि आवश्यक सावधानी र जनस्वास्थ्यका मापदण्ड पालना गर्न हेलचेक्र्याइँ गर्नु नहुने उनले बताए। कोरोना संक्रमणको रोकथाम र न्यूनीकरणका कामहरु पनि भइरहेका छन्। चितवनमा हालसम्म दुई लाख ७० हजार बढीले कोरोना विरुद्धको खोप लगाएको उल्लेख गर्दै तिवारीले खोप लगाएकामध्ये एक लाख ५० हजारले पूर्ण खोप पाइसकेका बताए।
खोप लगाउने क्रम बढ्दै गएको भएपनि कोरोना भाइरसले स्वरुप परिवर्तन गरिरहने भएकाले सावधानी अपनाउनुपर्नेमा उनको जोड छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।