काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वप्रशिक्षक डेभ वाट्मोर बरोडा क्रिकेट संघमा अनुबन्ध भएका छन्।
ओमानमा सम्पन्न भएको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि कतार पुगेका बेला उनले अचानक नेपाल क्रिकेट संघ (क्यान) लाई इमेलमार्फत् राजीनामा बुझाएका थिए।
ओमानविरुद्धको अन्तिम खेलपछि नेपाली टोली छाडेका वाट्मोर बिहीबार बरोडा क्रिकेट संघमा क्रिकेट डाइरेक्टर तथा सिनियर टिमको मुख्य प्रशिक्षक नियुक्त भएका हुन्।
‘उहाँ (वाट्मोर) मुख्य प्रशिक्षकको रूपमा नियुक्त हुनुभएको हो। उहाँले अन्य प्रशिक्षकसँग मिलेर विभिन्न उमेर समूहहरुका खेलाडीहरुलाई प्रशिक्षण गर्नुहुन्छ,’ एसोसिएशनका सचिव अजित लेले पीटीआईसँग भने।
भारतीय सञ्चार माध्यमका अनुसार एक सिजनमा बरोडाले वाट्मोरलाई करिब एक करोड ६० लाख रुपैयाँ दिनेछ।
६७ वर्षीय वाट्मोरलाई गत डिसेम्बरमा क्यानले खुल्ला छनोटबाट प्रशिक्षकमा नियुक्त गरेको थियो। १९९६ मा नेपालले अन्तर्राष्ट्रिय क्रिकेट महासंघ (आईसीसी) को सदस्यता पाएपछि नेपाली राष्ट्रिय टोलीसँग जोडिएका उनी अहिलेसम्मकै ‘हाइप्रोफाइल’ प्रशिक्षक थिए।
उनलाई नियुक्त गर्दा क्यानले कुल १२ हजार डलर मासिक दिएको थियो। तर, ८ महिनामा नै उनी नेपाल छोडे।
उनको प्रशिक्षणमा नेपालले ६ एकदिवसिय खेल खेल्यो। जसमा ४ जित र २ खेलमा पराजित भयो। यसका साथै घरेलु मैदानमा भएको त्रिकोणात्मक टी २० सिरिजको उपाधि नेपालले उचालेको थियो।
कोरोना महामारी र क्यानको नेतृत्वको अक्षमताका कारण आफ्नो जिम्मेवारी पूरा गर्न नसकेका वाट्मोरले पारिवारिक कारण देखाएर नेपाल छोडेका हुन्। यद्यपि, क्यानमा नेतृत्व परिवर्तन भए पुन: नेपाल आउने वाट्मोरले संकेत दिएका छन्।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले २०२१/२२ सिजनको घरेलु तालिका सार्वजनिक गरिसकेको छ। बीसीसीआईका अनुसार यस पटक रणजी ट्रफी पनि आयोजना हुने जनाएको छ। पछिल्लो सिजन कोरोना महामारीको कारण यो प्रतियोगिता रद्द भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।