काठमाडौं- धुलिखेल नगरपालिकामा ९७ प्रतिशतभन्दा धेरैले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्।
नगरपालिका भित्रका ९७ प्रतिशत भन्दा धेरैले कोरोनाविरुद्धको खोप लगाएको धुलिखेल नगरपालिकाका प्रमुख अशोक व्याञ्जुले जानकारी दिए।
१८ वर्ष माथि उमेर समूहका ३७ हजार भन्दा धेरैले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्। 'धुलिखेल नगरपालिकामा खोप लगाउने उमेर समूहअन्तर्गतका ९७ प्रतिशत भन्दा धेरैले खोप लगाउनु भएको छ,' प्रमुख व्याञ्जुले भने, '३७ हजार भन्दा धेरै नागरिकले खोप लगाउनु भएको छ।'
जनताप्रतिको जम्मेवारीवोध गर्दै आफूले कोरोनाविरुद्धको लडाइँमा सक्दो प्रयास गरेको व्याञ्जुले बताए।
कोरोना महामारीपछि आफूले महानगरमा यससँगै सम्बन्धित विषयलाई प्राथमिकतामा राखेर काम गरेको उनको भनाइ छ।
'खोपको व्यवस्थापनसहित आइसोलेसनको व्यवस्थापन, नि: शुल्क एम्बुलेन्स सेवाको व्यवस्थापन, औषधि र अक्सिजनको व्यवस्थापन गरिएको थियो,' उनले भने, 'कोरोनाबाट मृत्यु भएका परिवारलाई अन्तिम संस्कार गर्नका लागि खर्च स्वरुप नगरपालिकाले १५ हजार रुपैयाँ उपलब्ध गराउँदै आएको छ।'
जिल्लामा हाल १०१ सक्रिय संक्रमितमध्ये बनेपा नगरपालिकामा ३३, पाँचखालमा १६, धुलिखेलमा १८, पनौतीमा १०, नमोबुद्धमा ११ तथा भुम्लुमा सात र बेथानचोक गाउँपालिकामा चार संक्रमित रहेको जिल्लास्थित कोभिड–१९ संक्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डीसीसीएमसी)ले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।