काठमाडौं– ४ प्रदेशका १० वटा हिमाली जिल्लामा १८ वर्ष माथिका सबै नागरिकका लागि कोरोना भाइरस विरुद्धको खोप अभियान सञ्चालन सुरु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश १, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली जिल्लामा सोमबारदेखि खोप अभियान सञ्चालन गरिएको जानकारी दिएको छ।
मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार प्रदेश १ का ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, बागमती प्रदेशको रसुवा, कर्णाली प्रदेशका जुम्ला, मुगु, हुम्ला, डोल्पा तथा सुदूरपश्चिम प्रदेशका बाजुरा र दार्चुला जिल्लामा खोप अभियान सञ्चालन गरिएको हो।
जिल्लाका १८ वर्षभन्दा माथिका सबैलाई सोमबारदेखि यही असोज १४ गतेसम्म कोरोना भाइरस विरुद्धको पहिलो मात्राको खोप लगाइने अधिकारीले जानकारी दिए।
सरकारले शुक्रबारमात्र चीन सरकारबाट खरिद गरिएको ४४ लाख मात्रा भेरोसेल खोप ल्याएको थियो।
यस्तै, बागमती प्रदेशका काभ्रे र चितवनमा पनि १८ वर्ष भन्दा माथि छुटेका विद्यार्थी र ३५ वर्षमाथिका सबैलाई खोप लगाउन थालिएको छ। डा अधिकारीका अनुसार अभियानकै क्रममा काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, रामेछाप, सर्लाही र अछाम जिल्लामा ४० वर्ष माथिका खोप लगाउन बाँकी र १८ वर्ष माथिका खोप लगाउन छुटेका विद्यार्थीलाई खोप लगाइने छ।
यस्तै, मनाङ्, मुस्ताङ र पूर्वी रुकुम वाहेकका ५५ जिल्लामा ४५ वर्षमाथिका खोप लगाउन बाँकी सवै नागरिक र १८ वर्षमाथिका खोप लगाउन छुटेका विद्यार्थीलाई पनि अभियानकै क्रममा खोप लगाइने अधिकारीले जानकारी दिए। पहिलो मात्रा खोप लगाइसकेका लागि कात्तिक ४ देखि कात्तिक १४ गतेसम्म भेरोसेलको दोस्रो मात्राको खोप प्रदान गरिने छ।
सोमबारदेखिन नै यसअघि पहिलो मात्रा लगाएका नागरिकलाई दोस्रो मात्राको खोप अभियान पनि सञ्चालन गरिएको छ। दोस्रो मात्राको खोप लगाउने अभियान सोमबारदेखि असोज ६ गतेसम्म काठमाडौं जिल्लामा सञ्चालन भइरहेको छ।
मन्त्रालयले खोप लगाउनका लागि आफ्नो परिचय खुल्ने परिचय पत्र लिएर जान समेत अनुरोध गरेको छ। नेपालमा हालसम्म ६२ लाख तीन हजार ३१६ जनाले पहिलो मात्राको खोप लगाएका मन्त्रालयले जानकारी दिएको छ। यस्तै, ५५ लाख ७८ हजार ८६५ जनाले खोपको पूर्ण मात्रा लगाइसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।