फाइल तस्वीर
काठमाडौं- सरकारले चीनबाट खरिद गरेको ४४ लाख डोज कोरोना विरुद्धको भेरोसेल खोप आज (शुक्रबार) दिउँसो २ बजे नेपाल आइपुग्ने भएको छ। सरकारले चीनसँग पछिल्लो पटक ६० लाख डोज भेरोसेल खोप खरिद गरेको थियो। जसमध्ये १६ लाख डोज खोप भदौ ४ र ५ गते नै आइसकेको छ।
खरिद गरेको बाँकी ४४ लाख डोज खोप लिन नेपाल वायु सेवा निगमको वाइडवडी ३३० जहाज बिहीबार बेइजिङ गएको थियो। यसअघि निगमको जहाज खोप लिन बुधबार नै जाने र बिहीबार खोप ल्याउने तालिका बने पनि संशोधन गर्दै एक दिन पछाडि सारिएको हो।
भेरोसेल खोप यसअघि एक भाइलमा दुई डोज मात्र हुन्थ्यो। जसका कारण एक पटकको फ्लाइटमा ८ लाख भाइल ल्याउने गरिएको थियो। तर अहिले चीनले एक भाइलमा ५ डोजको खोप उत्पादन गर्दै आएको छ। जसका कारण एकै पटक ४४ लाख डोज खोप ल्याउन सकिने भएको हो।
भेरोसेल खोप सुरुमा एक भाइलमा एक डोज, त्यसपछि एक भाइलमा दुई र अहिले एक भाइलमा पाँच डोज आउन थालेको हो।
नेपालमा यसअघि कोभिसिल्ड २४ लाख ४८ हजार, ७४ लाख डोज भेरोसेल, १६ लाख डोज जोन्सन एन्ड जोन्सन, १७ लाख ७७ हजार ३२० डोज एस्ट्राजेनेका खोप आइसकेको छ।
असोजमा गाभीमार्फत १ लाख डोज फाइजर खोप आउने छ भने यसैवर्षको अन्त्यसम्म ६० लाख फाइजर ४० लाख मोडर्ना गरी एक करोड डोज खोप आउने बताइएको छ। फाइजर मंसिरसम्ममा आउने छ भने मोडर्ना केही समयपछि आउने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।