काठमाडौं- कोभिड-१९ विरुद्धको फाइजर खोप भण्डारण गर्न मिल्ने ४ वटा फ्रिजर नेपाल आइपुगेको छ। कोभ्याक्स सुविधाअन्तर्गत १ लाख २० हजार डोज खोप भण्डारण गर्न मिल्ने ४ वटा फ्रिजर नेपाल आइपुगेको हो।
कोभ्याक्स सुविधामार्फत नेपाल आइपुगेको उक्त ४ वटा फ्रिजर विमानस्थल भन्सारमा छ। उक्त फ्रिजर कोभ्याक्स मार्फत नेपालमा हस्तान्तरण हुन भने बाँकी नै छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उक्त फ्रिजरमा माइनस ८० डिग्री सेल्सियस तापक्रमसम्म खोप भण्डारण गर्न मिल्छ। ती खोप फ्रिजर टेकुमा राखिनेछ। सरकारले बालबालिका लागि माइनस डिग्री तापक्रममा भण्डारण गनुपर्ने खोप फाइजर ६० लाख र ४० लाख मोडर्ना खोप खरिद गर्ने सम्झौता गरिसकेको छ।
माइनस डिग्री तापक्रममा राख्नुपर्ने खोप खरिदको प्रक्रिया अगाडि बढे पनि नेपालमा माइनस तापक्रममा भण्डारण गर्ने भौतिक संरचना छैन। त्यसकारण सरकारले खोप आयात गर्नुअघि भण्डारण गर्ने कोल्ड चेनको व्यवस्था गर्न लागेको हो।
फाइजरका लागि माइनस ६० देखि ८० (अल्ट्रा कोेल्ड चेन) डिग्री तापक्रम र मोडर्नाका लागि माइनस १५ देखि २० डिग्री तापक्रममा भण्डारण गर्नुपर्ने हुन्छ।
फाइजर खोपलाई माइनस ६० देखि ८० डिग्री तापक्रममा ६ महिनासम्म भण्डारण गर्न सकिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।