काठमाडाैं- संयुक्त राज्य अमेरिकामा पछिल्लो समयमा कोभिड–१९ का सङ्क्रमित बढ्दै गएको छ। सेन्टर्स् फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनका अनुसार यहाँ पछिल्लो हप्तामा दिन प्रतिदिन कोभिड-१९ का संक्रमित बढ्दै गएको देखिएको छ।
पछिल्लो हप्ता हरेक दिन कम्तीमा पनि एक लाख ५० हजार जना मानिसमा यो सङ्क्रमण देखिएको छ। यो सङ्ख्या हरेक दिन बढेको पछिल्लो हप्ताको सबैभन्दा धेरै हो र यो अघिल्लो हप्ताको तुलनामा करिब पाँच प्रतिशतले बढ्दो छ। यहाँ बुधबारसम्मको तथ्यांक हेर्दा तीन करोड ९४ लाख ८८ हजार जनामा यो सङ्क्रमण देखिएको छ।
यो हप्तामा अस्पताल भर्ना प्रतिशत पनि बढेको छ। पछिल्लो हप्ता अर्थात् अगष्ट २५ देखि ३१ सम्मको अवस्था हेर्दा यहाँका १२ हजार १५६ जना अस्पताल भर्ना भएका छन्।
यो प्रतिशत अघिल्लो हप्ताको भन्दा १.७ प्रतिशतले बढी हो। त्यसैगरी यो हप्ता यहाँका एक हजार ४७ जनाको यो सङ्क्रमणबाट निधन भएको छ।
यो सङ्ख्या यो भन्दा अघिल्लो हप्ताको तुलनामा ३.७ प्रतिशतले बढी हो। यसरी अमेरिकामा पछिल्लो हप्तामा सङ्क्रमित हुने, अस्पताल भर्ना हुने तथा मृत्यु हुनेको सङ्ख्या पनि बढ्दो देखिएको समाचारमा जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।