काठमाडौं– काठमाडौं उपत्यकामा थप ७९३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। गत २४ घण्टाको अवधिमा गरिएको पीसीआर तथा एन्टिजेन परीक्षणका क्रममा बिहीबार उपत्यकाका ३ जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा गरी थप ७९३ जनामा संक्रमण पुष्टि भएको हो।
बिहीबार थपिएका संक्रमितमध्ये सबैभन्दा बढी काठमाडौं जिल्लाका छन्। काठमाडौंमा ५४१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
यस्तै, ललितपुर जिल्लामा थप १५२ र भक्तपुर जिल्लामा थप १०० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ।
थपिएका संक्रमित समेत गरी काठमाडौंमा सक्रिय संक्रमितको संख्या ४ हजार ८३६ छ। यस्तै, ललितपुरमा २ हजार ३०८ र भक्तपुरमा १ हजार ३९० जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जानकारी दिएको छ।
गत २४ घण्टामा देशभर भने २ हजार चार जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ। २४ घण्टामा देशका विभिन्न ठाउँमा गरी १६ जना संक्रमितको मृत्यु भएको छ भने १ हजार ८४६ जना डिस्चार्ज भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।