काठमाडौं- जापानले कोभ्याक्स सुविधामार्फत उपलब्ध गराएको एस्ट्राजेनेका खोप नेपाल आइपुगेको छ। जापानले नेपाललाई १६ लाख डोज एस्ट्राजेनेका खोप कोभ्याक्स सुविधा मार्फत उपलब्ध गराएको थियो।
आज अन्तिम चरणमा बिहान ९:४५ बजे ५ लाख ५९ हजार ३६० डोज खोप नेपाल आइपुगेको हो। १६ लाख डोज एस्ट्राजेनेका खोपमध्ये भदौ ५ गते २ लाख ८ हजार ७ सय डोज र गत साउनमा ९ लाख डोज खोप नेपाल आइसकेको छ।
साउनमा आएको ९ लाख खोप चैतमा कोभिसिल्डको पहिलो मात्रा लगाएका ६५ वर्षमाथिका नागरिकलाई लगाइएको छ।
अहिले आएको खोप प्रदेश १ र २ मा कोभिसिल्डको पहिलो मात्रा लगाएका नागरिकलाई दिइनेछ। बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा झलक शर्माले उक्त खोप प्रदेश १ र २ मा कोभिसिल्डको दोस्रो मात्राका रुपमा दिइने जानकारी दिए।
यसअघि २४ लाख ४८ हजार कोभिसिल्ड, ७४ लाख डोज भेरोसेल, १६ लाख डोज जोन्सन एन्ड जोन्सन, १३ लाख ५७ हजार ६० डोज एस्ट्राजेनेका खोप नेपाल आइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।