तालिबानले नयाँ सरकार गठन नगर्दै अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी) माथि हस्तक्षेप गरेको छ। उनीहरुले एसीबीका पूर्वअध्यक्ष अजिजुल्लाह फाज्लीलाई नै पुनः निमित्त अध्यक्ष नियुक्त गरेका छन्।
एसीबीको आधिकारिक ट्विटर हेन्डलबाट ट्विट गरेर उनको नियुक्तिको जानकारी दिइएको छ। उनी यसअघि सेप्टेम्बर २०१८ देखि जुलाई २०१९ सम्म एसीबको अध्यक्ष थिए। काबुल कब्जा गरेपछि तालिबानले कुनै पनि ‘गभर्निङ बडी’मा गरेको यो पहिलो नियुक्ति भएको प्रेस ट्रष्ट अफ इन्डिया (पीटीआई) ले आफ्नो समाचारमा उल्लेख गरेको छ।
यसअघि एसीबीको अध्यक्ष फरान युसुफजाई थिए। केही दिनअघि मात्र एसीबीका प्रमुख कार्यकारी अधिकृत हमिद शिनवारीले बोर्डमाथि कुनै हस्तक्षेप नहुने अपेक्षा गरेको बताएका थिए। उनले तालिबानकै सहयोगमा क्रिकेट गतिविधिहरु विनाअवरोध अघि बढ्ने पनि बताएका थिए।
तर, युसुफजाई बर्खास्तीमा परेपछि अब क्रिकेट गतिविधि पहिला जस्तै अघि बढ्नेमा आशंका जन्मिएको छ। अफगानिस्तानले सन् २०१० मा पहिलो पटक महिला क्रिकेट टिम पनि बनाएको थियो। महिला क्रिकेटको भविष्य अब अनिश्चित भएको छ।
अफगानिस्तानले चाँडै नै श्रीलंकामा पाकिस्तानविरुद्ध प्रतिश्पर्धा गर्दैछ। काबुलबाट हुने सबै व्यवसायिक उडान स्थगित भएको अवस्थामा नयाँ अध्यक्ष फाज्लीलाई उक्त भ्रमणको व्यवस्थापन गर्ने मुख्य चुनौती हुनेछ।
यसैबीच उनीहरुका शीर्ष दुई खेलाडी राशिद खान र मोहम्मद नाबीले अफगानिस्तानबाट खेल्ने सुनिश्चितता छैन। अहिले दुवै जना अफगानिस्तानमा छैनन्। उनीहरु लण्डनमा ‘द हन्ड्रेड’ प्रतियोगिता खेलिरहेका छन्। त्यहाँबाट आगामी सेम्टेम्बर १९ देखि यूएईमा हुने आईपीएलको बाँकी प्रतिश्पर्धामा भाग लिन त्यता जाने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।