काठमाडौं - जापानबाट कोरोनाविरुद्धकाे खोप नेपाल आइपुगेको छ। जापान सरकारले काेभ्याक्स सुविधामार्फत उपलब्ध गराएको १६ लाख डोज एस्ट्राजेनेका खोपमध्ये आज (शनिबार) २ लाख ८ हजार ७ सय डोज खोप आइपुगेको हो।
अब बाँकी रहेको खोप आगामी साेमबार नेपाल आउने बताइएको छ। १६ लाखमध्ये दुई चरणमा गरी बाँकी सात लाख डोज खोप नेपाल आउन लागेको हो। यसअघि जापानबाट ९ लाख खोप नेपाल आइसकेको छ। उक्त खोप चैतमा कोभिसिल्डको पहिलो मात्रा लगाएका ६५ वर्षमाथिका नागरिकलाई लगाइएको छ।
अब आउने खोप प्रदेश १ र २ मा कोभिसिल्डको पहिलो मात्रा लगाएका नागरिकलाई दिइनेछ। बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा झलक शर्माले उक्त खोप आएपछि प्रदेश १ र २ मा कोभिसिल्डको दोस्रो मात्राका रुपमा दिइने जानकारी दिए।
स्वास्थ्य तथा जनसंख्याको शुक्रबारसम्म ३७ लाख ९९ हजार १७८ जनाले कोरोना विरुद्धको पूर्ण र ४९ लाख ७ हजार ५२३ जनाले पहिलो मात्रा खोप लगाइसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।