काठमाडौं- मध्यपुर थिमि वडा नं ८ र ९ बोडेमा गाईजात्राको भोलिपल्टदेखि सुरु हुने धार्मिक एवं ऐतिहासिक महत्व बोकेको द्यो प्याखँ (निलबाराही गणनाच) यसवर्ष प्रदर्शन नहुने भएको छ।
कोरोना भाइरसको बढ्दो सङ्क्रमणका कारण यसवर्ष द्यो प्याखँ प्रदर्शन नहुने ८ नं वडा कार्यालयले जानकारी दिएको हो।
वडाका प्रमुख प्रशासकीय प्रमुख रवीन्द्र श्रेष्ठले एक सूचना जारी गर्दै भीडभाड नहुने गरी विधि मात्र पुर्याई द्यो प्याखँ सम्पन्न गर्ने जानकारी दिए। सूचनामा कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण तीव्ररुपमा बढिरहेको कारणले द्यो प्याखँ प्रदर्शन नगर्ने र कुनै पनि पूजाआजा नगर्ने नगराउने उल्लेख गरिएको छ।
भक्तपुरका चार स्थानीय तहमध्ये मध्यपुर थिमि नगरपालिका सबैभन्दा धेरै कोरोना प्रभावित स्थानीय तह हो। स्वास्थ्य कार्यालय भक्तपुरका अनुसार मध्यपुर थिमिमा शक्रबार साँझसम्म आठ हजार ६१० भन्दा बढी कोरोना सङ्क्रमित छन् भने यहाँ ६८ पुरुष र ३४ महिला गरी १०२ जनाले कोरोना सङ्क्रमणका कारण ज्यान गुमाइसकेका छन्।
मध्यपुर थिमिमा २३६ पुरुष र २१० महिला गरी ४४६ जना सक्रिय सङ्क्रमित छन्। तीमध्ये १३ पुरुष र २० महिला गरी ३३ जना अस्पतालमा उपचारारत छन् । सक्रिय सङ्क्रमितमध्ये ४१३ जना होम आइसोलेसनमा छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।