काठमाडौं- वर्षा कश्यप क्याथफोर्ड कलेजमा बीबीए दोस्रो सेमेष्टरमा पढ्छिन्। उनको आन्तरिक परीक्षा चलिरहेको छ। तर, उनी शुक्रबार परीक्षा छोडेर कोरोनाविरुद्धको खोप लगाउन सिभिल अस्पताल केन्द्रमा लाइनमा थिइन्।
खोप नहुँदा परीक्षा केन्द्र जान पन उनलाई डर लाग्थ्यो। बाहिर निस्कन ढुक्क थिइनन्। सरकारले विद्यार्थीलाई प्रवेशपत्रका आधारमा खोप दिने भनेपछि उनी पनि आइन्। तर, खोप लगाउनका लागि पहिला टोकन लिनुपर्ने नियम थियो। उनले टोकन पाइसकेकी थिइनन्।
‘हामी परीक्षा छोडेर खोप लगाउन आयौँ, यहाँ त टोकन लिनुपर्ने रहेछ। एक हजारलाई मात्र खोप दिने भन्छन्। आज खोप पाइएन भने कहिले पाइन्छ थाहा छैन,’ उनले भनिन्। उनी भेरोसेल खोपको पहिलो डोज लिन आएकी हुन्।
दीपक विक पनि अहिले स्नातक नै पढिरहेका छन्। चीनमा अध्ययन गरिरहेका उनी कोरोना संक्रमणको जोखिमका कारण नेपाल आएका थिए। उनको अहिले पनि अनलाइन कक्षा चलिरहेको छ। तर, उनलाई अनलाइन कक्षा प्रभावकारी लागेको छैन।
खोप लगाउन नपाएका कारण कलेजले बोलाएको छैन। खोप लगाउन पाए उतै गएर कक्षा लिन पाइने आशामा उनी लाइन लागेका छन्।
कोरोनाको खोप लगाउने लाइनमै भेटिएकी भीएस निकेतनमा अध्ययनरत दीप्ती केसीले अब ढुक्क भएर परीक्षा दिन पाउने भएको हुँदा खुसी लागेको बताइन्। विद्यार्थीले खोप नपाएकै कारण उनका परीक्षा रोकिएको थियो।
सिभिल अस्पताल केन्द्रमा नै भेटिएका हेमन्त शाह पनि खोपको लाइनमा छन्। उनी त्रिचन्द्र कलेजमा बिएससी तेस्रो वर्षमा अध्ययन गर्छन्। अहिले प्रयोगात्मक परीक्षा चलिराहेको छ। ‘सरकारी कलेजमा अनलाइन कक्षा पनि छैन। विद्यार्थीहरुलाई एउटा शैक्षिक सत्र नै जाने चिन्ता छ। खोप लगाउनेबित्तिकै समस्या समाधान हुने ढुक्क भने छैन,’ उनी भन्छन्, ‘तर, खोप लगाइसकेपछि सरकारले शैक्षिक संस्था चालू राख्न कुनै विकल्प सोच्ला कि!’
उता ज्ञानेश्वरको खोप केन्द्रमा पनि बिद्यार्थीको लामै लाइन छ। उक्त लाइनमा भेटिएकी रोनिभा थापा खोप लगाउन पाइनेमा ढुक्क छिन्। उनी भन्छिन्, ‘विद्यार्थीहरु पढाइको अन्योलमा छन्। परीक्षा नै नहुने चिन्ता छ। अब खोप लगाउन पाएपछि पढाइ अगाडि बढ्ने आत्मविश्वास बढेको छ।’
हेरौं थप तस्वीर





नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।