काठमाडौं - सरकारले मिति सकिन लागेपछि एस्ट्राजेनेका खोप लगाउने लक्षित समूहको दायरा बढाएको छ।
सरकारले १८ वर्ष उमेर पुगेका कक्षा १२ का विद्यार्थी र सीमा नाकाका प्रवेश बिन्दुहरुबाट नेपाल प्रवेश गर्ने १८ वर्ष पूरा भएका नागरिकलाई एस्ट्राजेनेका खोप दिने निर्णय गरेको छ।
अहिले गत चैतमा कोभिसिल्डको पहिलो मात्रा खोप लगाएका ६५ वर्षमाथिका नागरिकलाई दोस्रो मात्राको रुपमा यो खोप दिइएको छ।
तर, यही अगस्टभित्रै खोपको प्रयोग समय सकिन लागेपछि लक्षित समूहको दायरा बढाइएकाे हाे।
स्वास्थ्य सेवा विभाग, परिवाक कल्याण महाशाखाका प्रमुख डा तारानाथ पोखरेलले सबै प्रदेश निर्देशनालय र ७७ जिल्ला स्वास्थ्य कार्यालयलाई जिल्ला खोप समन्वय तथा अनुगमन समितिबाट निर्णय गराई लक्षित समूहबाहेक उल्लेखित समूहलाई पहिलो मात्रा खोप दिने व्यवस्था मिलाउन पत्राचार गरेका छन्।
जापान सरकारले गत साउनमा कोभ्याक्स सुविधामार्फत एस्ट्राजेनेका खोप उपलब्ध गराएको थियो भने भुटानले पनि करिब ३ लाख एस्ट्राजेनेका सहयोग गरेको थियो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।