काठमाडौं- बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल सम्बन्धी अध्यादेश जारी गरेपछि नेपाली राजनीतिक क्षेत्र तरंगित बनेको छ।
मंगलबारको मन्त्रिपरिषद् बैठकले सिफारिस गरेअनुसार केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत सदस्य भए दल विभाजन गर्न पाइने व्यवस्थासहित अध्यादेश आएको हो।
अध्यादेश आएसँगै नेकपा (एमाले)को माधवकुमार नेपाल पक्ष र जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्ष सघन छलफलमा जुटेका छन्। उनीहरूले नयाँ दल गठनका लागि आजै निर्वाचन आयोगमा निवेदन दिने तयारी गरेका छन्।
नेपाल पक्षले पार्टीको नाम नेकपा एमाले समाजवादी र चुनाव चिह्न प्रस्ताव गरेको छ भने जसपाकाे महनथ पक्षले जसपा लाेकतान्त्रिक नाम प्रस्ताव गरेको छ।
राजनीतिक दल सम्बन्धी ऐनअनुसार यस्तो छ दल दर्ता सम्बन्धी व्यवस्था
५. दल दर्ता सम्बन्धी व्यवस्थाः (१) दफा ४ बमोजिम दल दर्ता हुनको लागि दलको प्रमुख पदाधिकारीले केन्द्रीय समितिको निर्णयसहित देहायको विवरण तथा कागजात संलग्न गरी तोकिए बमोजिमको ढाँचामा आयोगसमक्ष निवेदन दिनु पर्नेछः–
(क) दलको विधान,
(ख) घोषणापत्र,
(ग) झण्डा, चिह्नको नमूना,
(घ) कम्तीमा पाँचसय जना नेपाली मतदाताले दलको सदस्यता प्राप्त गर्न गरेको प्रतिबद्धता पत्र र निजहरुको नागरिकता वा मतदाता परिचय पत्रको प्रमाणित प्रतिलिपि सहितको हस्ताक्षर,
(ङ) खण्ड (घ) बमोजिम प्रतिबद्धता जनाउने व्यक्तिले अर्को दलको सदस्य नभएको भनी गरेको उद्घोषण पत्र,
(च) कम्तीमा एक्काइस सदस्य केन्द्रीय समितिको व्यवस्था, र
(छ) आयोगले आवश्यक ठानेका अन्य विवरण तथा कागजात ।
(२) उपदफा (१) बमोजिम प्राप्त भएको निवेदन उपर आयोगले आवश्यक जाँझबुझ गर्नेछ।
(३) उपदफा (२) को प्रयोजनको लागि आयोगले प्रस्तावित दलको प्रमुख पदाधिकारी वा केन्द्रीय समितिका सदस्यसँग छलफल गर्न, थप कुनै विवरण वा आवश्यक कागजात माग गर्न वा निजहरुको हस्ताक्षर तोकिएको ढाँचामा सनाखत गराउन सक्नेछ ।
(४) उपदफा (२) बमोजिम भएको जाँचबुझबाट प्रस्तावित दल संविधान र यस ऐन बमोजिम दर्ता हुन सक्ने देखिएमा आयोगले उपदफा (१) बमोजिम निवेदन परेको पैँतालीस दिनभित्र त्यस्तो दल दर्ता गरी दल दर्ता प्रमाणपत्र र दर्ता हुन नसक्ने भए त्यसको कारण खुलाई निवेदकलाई जानकारी दिनु पर्नेछ ।
यस्तो छ दल दर्ता नगर्ने कानुनी व्यवस्था
६. दल दर्ता हुन नसक्नेः (१) दफा ५ मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायको कुनै अवस्थामा दल दर्ता हुन सक्ने छैनः–
(क) दलले संविधानको धारा २६९ को उपधारा (४) बमोजिमको शर्त पुरा नगरेको भएमा,
(ख) दलको नाम, उद्देश्य, चिन्ह, झण्डा, विधान, नियमावली तथा काम, कारबाही संविधानको धारा २६९ को उपधारा (५), धारा २७० को उपधारा (२) तथा यस ऐन प्रतिकूल हुने भएमा,
(ग) दलको सदस्यता प्राप्त गर्न नेपालका नागरिकलाई धर्म, जात, जाति, सम्प्रदाय, भाषा वा लिङ्गको आधारमा बन्देज लगाइएको, बञ्चित गरेको वा विभेद गरेको देखिएमा,
(घ) दलको विधानमा दफा ८ को उपदफा (२) बमोजिम उल्लेख हुनु पर्ने कुरा उल्लेख नभएमा,
(ङ) दलको नाम वा चिन्ह आयोगमा दर्ता कायम रहेको दलको नाम वा चिन्हसँग मिल्ने भएमा,
(च) दलको नाम, उद्देश्य, चिन्ह वा झण्डा नेपालको धार्मिक वा साम्प्रदायिक एकतालाई खलल पार्ने वा विखण्डित गर्ने प्रकृतिको भएमा वा सार्वजनिक नैतिकता प्रतिकूल हुने भएमा,
(छ) दफा ५ को उपदफा (३) बमोजिम आयोगले माग गरेको विवरण वा कागजात उपलब्ध नगराएमा वा पदाधिकारी वा सदस्यको हस्ताक्षर सनाखत हुन नसकेमा ।
(२) उपदफा (१) बमोजिमको कुनै कारणबाट दल दर्ता गर्न नसकिने भएमा आयोगले त्यसको कारण खुलाई पन्ध्र दिनभित्र दल दर्ताको लागि सुधारसहितको विवरण आयोगमा पेश गर्न सम्बन्धित निवेदकलाई सूचना दिन सक्नेछ ।
(३) उपदफा (२) बमोजिमको अवधिभित्र त्यस्तो विवरण प्राप्त भएमा र आयोग त्यसमा सन्तुष्ट भएमा आयोगले दफा ५ को उपदफा (४) बमोजिम दल दर्ता गरी निवेदकलाई त्यसको प्रमाणपत्र दिनेछ र दल दर्ता हुन नसक्ने भएमा त्यसको कारण खुलाई निवेदकलाई जानकारी दिनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।