फाइल तस्वीर
काठमाडौं- नेपालमा हालसम्म ४५ लाखभन्दा बढीले कोभिड १९ विरुद्धको खोपकाे पहिलो मात्रा लगाएका छन्। नेपालमा लगाइरहेको तीन किसिमका खोप कोभिसिल्ड, भेरोसेल र जोन्सन एण्ड जोन्सन गरी ४५ लाख ७० हजार ५५३ जनाले खोपको पहिलो मात्रा लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
त्यसैगरी, २८ लाख ८८ हजार ३६० जनाले खोपको दोस्रो मात्रा अर्थात पूर्ण खोप लगाएका छन्। गत २४ घण्टामा देशभर १ लाख ९५ हजार २११ जनाले कोभिड १९ विरुद्धको खोप लगाएका छन्।
अहिलेसम्म कुल जनसंख्याको ९ दशमलब ५१ प्रतिशतले पूर्ण खोप पाएको र १३ दशमलब २८ प्रतिशतले पहिलो मात्रा पाएको मन्त्रालयले जनाएको छ।
सरकारले कुल जनसंख्याको ७२ प्रतिशत अर्थात २ करोड १७ लाख ५६ हजार ७६३ लाई कोभिड खोप लगाउने लक्ष्य लिएको छ। जसमध्ये हालसम्म २१ दशमलव १ प्रतिशतले पहिलो मात्रा र १३ दशमलब २८ प्रतिशतले दोस्रो मात्रा खोप पाएका छन्।
गत २४ घण्टामा कोभिसिल्ड खोपको दोस्रो मात्रा ६९ हजार ३७, भेरोसेल खोपको पहिलो मात्रा २८ हजार ८७१ जना, ६९ हजार १११ जनाले दोस्रो मात्रा, र जोन्सन एण्ड जोन्सन खोप २८ हजार १९२ जनाले लगाएका छन्।
योसँगै कोभिसिल्ड खोपको दोस्रो मात्रा लगाउनेको कुल संख्या ५ लाख ९७ हजार ८१९ जना पुगेको मन्त्रालयले जनाएको छ। भेरोसेल खोपको पहिलो मात्रा र दोस्रो मात्रा लगाउनेका संख्या क्रमश: २७ लाख २ हजार १२८ र १० लाख ८३ हजार ४०३ पुगेको छ। हालसम्म १२ लाख ७ हजार १३८ जनाले जोन्सन एण्ड जोन्सन खोप लगाएका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।