काठमाडौं- कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप खरिदका लागि नेपाललाई एसियाली विकास बैंक (एडीबी) ले १९ अर्ब ५८ करोड रूपैयाँ बराबरको सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ। बुधबार नेपाल सरकार र एडीबीबीच ऋणसम्बन्धी सम्झौता भएको हो।
अर्थ मन्त्रालयमा आयोजित समारोहमा नेपाल सरकारको तर्फबाट अर्थसचिव मधुकुमार मरासिनी र एडीबीका कन्ट्री डाइरेक्टर आनो कुस्वाले सम्झौतापत्रमा हस्ताक्षर गरे। उक्त सहुलियतपूर्ण ऋण सहायताले एक करोड ५९ लाख डोज कोभिडविरुद्धको खोप खरिद गरी नेपाल सरकारको राष्ट्रिय खोप योजनालाई सहयोग पुग्ने मन्त्रालयको भनाइ छ। यसबाट ६८ लाख जनसंख्या लाभान्वित हुने बताइएको छ।
कार्यक्रममा अर्थसचिव मरासिनीले नेपाललाई सुरक्षित र प्रभावकारी खोपको उपलब्धताको सुनिश्चितताका लागि एडीबीको यो सहायता महत्त्वपूर्ण हुने उल्लेख गर्दै खोप अभियानले नागरिक जीवनको सुरक्षा गरी अर्थतन्त्रको पुनरुत्थानमा मद्दत पुर्याउने विश्वास व्यक्त गरे।
खोप कार्यक्रम सरकारको उच्च प्राथमिकताको विषय भएको जानकारी गराउँदै उनले यसमा एडीबीको ऋण सहायताले महत्त्वपूर्ण भूमिका खेल्ने बताए।
एडीबीका कन्ट्री डाइरेक्टर कुस्वाले यो सम्झौता कोभिड-१९ को चक्र तोडेर नागरिकको जीवन रक्षा गरी आर्थिक एवं सामाजिक पुनरुत्थानतर्फ अघि बढ्न सहयोगीसिद्ध हुने विश्वास व्यक्त गरे।
उनले कोभिड-१९ संक्रमणबाट सार्वजनिक स्वास्थ्य र राष्ट्रिय अर्थतन्त्रमा परेको असर व्यवस्थापन गर्न नेपाल सरकारलाई बंैकले पुर्याइरहेको सहयोगलाई आगामी दिनमासमेत निरन्तरता दिने आश्वासन दिए।
यसबाहेक एडीबीबाट परिचालित प्राविधिक सहायताले खोप वितरणलााई प्रभावकारी बनाउने र सञ्चार तथा सामुदायिक सहभागितालाई बढावा दिँदै कोभिड-१९ विरुद्ध जनचेतना फैलाउन सहयोग पुग्ने विश्वास सरकारले लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।