फाइल तस्बिर
काठमाडौं- चीनबाट थप ३२ लाख डोज खोप नेपाल आउने भएको छ। सरकारले खरिद गरेको १६ लाख र चीनले अनुदानमा दिने भनेको १६ लाख गरी ३२ लाख डोज खोप नेपाल आउने पक्का भएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलका अनुसार अबको एक सातामा नेपालले खरिद गरेको १६ लाख डोज खोप आउने र त्यसपछि अनुदानको १६ लाख डोज खोप आउनेछ।
उनका अनुसार खरिद गरिएको भेरोसेल खोप १७ तारिखमा आउने कार्यतालिका छ। अनुदानको खोप भने त्यसपछि आउनेछ।
'हामीले खरिद गरेको खोपमध्ये १६ लाख डोज खोप पहिला आउने भएको छ,' उनले भने, 'त्यसपछि चीनले दिने भनेको अनुदानको खोप पनि आउने कार्यतालिका रहेको छ।'
सरकारले यसअघि चीनबाट ४० लाख डोज खोप खरिद गरेको थियो। ती सबै खोप नेपाल आइसकेको छ। खरिद गरेको खोप लगाउने काम भइरहेको छ।
नेपालमा हालसम्म एक करोड पाँच लाखभन्दा बढी खोप आइसकेको छ। मन्त्रालयको तथ्यांकअनुसार खरिद गरेको ५० लाख, अनुदानमा २९ लाख र कोभ्याक्सअन्तर्गत २६ लाख ८२ हजार ८५० खोप आइसकेको छ।
नेपालमा कोभिशिल्ड, भेरोसेल, एस्ट्राजेनेका र जोन्सन एन्ड जोन्सनको खोप आएका छन्। मन्त्रालयको तथ्यांकअनुसार हालसम्म पहिलो डोज खोप लगाउनेको संख्या ५७ लाख २० हजार ६२८ पुगेको छ। यस्तै पूर्ण खोप लगाउनेको संख्या २७ लाख २२ हजार २० छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।