काठमाडौं- चीनको चच्यांग प्रान्तको आनफू लीसंग च्यारीटी प्रतिष्ठानले काठमाडौंस्थित जीवराज आश्रित फाउण्डेशनलाई करिब एक करोड रुपैयाँ मूल्य बराबरका विभिन्न स्वास्थ्य सामग्री प्रदान गरेको छ।
लुम्बिनी प्रदेशका विभिन्न सरकारी स्वास्थ्य संस्था र स्थानीय तहलाई प्रदान गर्ने उद्देश्यका साथ उक्त सामग्री प्रदान गरिएको हो। नेपालमा बस्ने चिनियाँ नागरिकहरूको सहयोगी संस्था 'निपोअर ह्वा रन ह्वा छ्याओ से हुइ'द्वारा आश्रित फाउण्डेशनलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित कार्यक्रममा संस्थाका अध्यक्ष चीनले फाउण्डेशनलाई सामूहिक रुपमा स्वास्थ्य सामग्री र उपकरण हस्तान्तरण गरे।
सामग्रीहरूमा पोजिटिभ एअरवे प्रेसर युनिट ३० थान, हाइ फ्लो नसल क्यानल्स ५०० थान, पीपीई एक हजार ५०० थान, २० हजार थान सर्जिकल मास्क, उच्च गुणस्तरका मास्क १0 हजार ८ सय थानलगायत अन्य स्वास्थ्य विपद् सामग्रीहरू रहेका छन्।
कोभिड-१९ को महामारीले मुलुक आक्रान्त भएको समयमा उक्त स्वास्थ्य सामग्रीले कोभिड विरुद्धको लडाइँमा नेपाललाई थोरै भए पनि सहयोग पुग्ने संस्थाका अध्यक्ष चीनले विश्वास व्यक्त गरे।
फाउण्डेशनका अध्यक्ष डा सागर न्यौपानेका अनुसार प्राप्त स्वास्थ्य सामग्रीहरू लुम्बिनी प्रादेशिक अस्पताल र लुम्बिनी प्रदेशका अन्य दुर्गम जिल्ला र गाँउपालिकाहरुका स्वास्थ्य केन्द्रहरूमा प्रदान गरिने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।