काठमाडौं- आजदेखि कोभिसिल्डको पहिलो मात्रा लगाई दोस्रो मात्रा पर्खिरहेका नागरिकलाई अस्ट्राजेनिका खोप लगाइँदै छ।
यो खोप अभियान अहिले बागमती, गण्डकी र लुम्बिनीमा मात्रा सञ्चालन हुनेछ। प्रदेश १ र २ मा भेरोसेल र जोन्सन एन्ड जोन्सनको खोप लगाइरहेकाले अर्को चरणमा कोभिसिल्डको दोस्रो मात्रा दिइने जनाइएकाे छ।
परिवार कल्याण महाशाखाका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा झलक शर्मा गौतमले बागमतीका सबै जिल्ला र गण्डकी र लुम्बिनीको केही जिल्लामा मात्र आजदेखि कोभिसिल्डको दोस्रो मात्रा खोप लगाइने बताए।
कोभिसिल्डको दोस्रो मात्राका रुपमा सरकारले अस्ट्राजेनिका खोप लगाउँदै छ। यो खोप कोभिसिल्डको पहिलो डोज लगाएका झन्डै १४ लाख नागरिकले पाउने छन्।
‘खोप पठाइएका जिल्लामा पालिकाले आफ्नो अनुकूल खोप कार्यक्रमको सूचना जारी गरी खोप अभियान संचालन गर्नेछन्,’ डा गौतमले भने।
नेपालगन्ज र धनगढीमा आज खोप पठाइने भएकाले कर्णाली, सुदूरपश्चिम र लुम्बिनीका केही जिल्लामा भने बुधबारबाट खोप कार्यक्रम सुरु हुने उनले जानकारी दिए।
सरकारले दोस्रो मात्रा लगाई बाँकी रहेको खोप वैदेशिक रोजगारी, अध्ययन र अन्य प्रयोजनमा विदेश जाने व्यक्तिलाई पनि लगाउने निर्णय गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।